सिटौला–देउवा गठबन्धन कायम रहला ?

काठमाडौं । नेपाली कांग्रेसको पार्टी राजनीतिमा वडा तहबाटै मेहनत गरेर बनेका नेता हुन् कृष्णप्रसाद सिटौला । कुनै समय गिरिजाप्रसाद कोइरालाको साथ पाएर पार्टीमा सिटौलाले आफ्नै छवि बनाएका छन् । माओवादी द्वन्द्व अन्त्यका लागि सरकारका तर्फबाट वार्ता समितिमा भूमिका पाएपछि सिटौलाको चर्चा चुलिएको हो । उनी संविधान मस्यौदाकार समितिमा प्रमुख भएर काम पनि गरे । देशमा गृह मन्त्री पनि भए पार्टीमा महामन्त्री पनि बन्न सफल भए ।

नेपाली राजनीतिमा सिटौला चतुर खेलाडी र रणनीति निर्माणमा माहिर मानिने कांग्रेसभित्रै चर्चा चलिरहन्छ । विगतमा जस्तै नेता सिटौलाको महत्व पार्टी राजनीतिमा बढ्दो छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश महाधिवेशनसम्म आइपुग्दा गुट बन्ने र भत्किने क्रम जारी छ । एक ढिक्का भनिएको संस्थापन टिमबाट विमलेन्द्र निधि बाहिरिएका छन् । संस्थापन इतर भनिएको रामचन्द्र पौडेल समूहका नेताहरु चारतिर फर्किएको छ ।

कांग्रेसमा एक निर्णायक शक्ति हुन् नेता सिटौला । कोइराला लिगेसीबाट उदाएका सिटौला अहिले कोइरालाहरुको उपस्थिति रहेको टिममा छैनन् । उनले १३औं महाधिवेशनबाट आफ्नै समूह बनाएका छन् । समूहको प्रभाव १४औं महाधिवेशनमा बढेको छ । १४औं महाधिवेशनमा देशभरका जिल्लाहरुमा सिटौला समूहको सहकार्य संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गरिरहेको टिमसँग भइरहेको छ ।

देउवा–सिटौलाको सहकार्य बमोजिम बाग्लुङ्मा सिटौला निकट जितबहादुर शेरचन जिल्ला सभापति बन्न सफल भए । यस्तै सिटौला निकट शिव हुमागाईंले गृह जिल्ला काभ्रेमा देउवा समूहसँग एलाइन्स गरेर तिर्थ लामालाई सभापति बनाउन निर्णायक भूमिका खेलेसँगै देउवा–सिटौला गठबन्धन मजबुत बनेको हो ।

गणबन्धलाई निर्णायक बनाउन काठमाडौं जिल्लामा भएको सिटौला–देउवा गठबन्धनलाई कांग्रेस राजनीतिमा महत्वका साथ हेरिएको छ । ‘एन्टी’ प्रकाशमान मानिने सिटौलाका विश्वासपात्र भिमसेनदास प्रधानको प्रयासमा वडा तहको अधिवेशनदेखिनै देउवा–सिटौला समीकरण बन्यो । जुन जिल्ला तहको अधिवेशनमा पनि कायम रह्यो ।

सिटौला समूहबाटै १३औं महाधिवेशनबाट उदाएका गगन थापाले सो समूह छाडेपछि देउवा–सिटौला समूहले उल्लेखनीय उपलव्धि हासिल गर्न सकेन । तर, नेता प्रधान भने काठमडौंको उपलव्धिमा सन्तुष्ट छन् । गठबन्धनको निरन्तरतास्वरुप मोरङ जिल्ला अधिवेशनमा पनि देउवा–सिटौला समूहले दोस्रो चरणमा मोर्चाबन्दी कस्यो । तर, यहाँ पनि समूह सफल हुन सकेन ।

मोरङमा चलेको शेखर कोइराला हराऊ अभियान पहिलोपटक भइरहेको प्रदेश अधिवेशनमा पनि जारी छ । प्रदेश १ र प्रदेश ३ मा देउवा सिटौला सहकार्य गर्ने सम्झौता भएको दृश्य बाहिर आएका छन् । अन्य प्रदेशमा सिटौला समूहले उमेदवारी खडा गरेको छैन । प्रदेश १ मा सिटौला बलियो पनि छन् । उनले प्रदेश अधिवेशन गराउने जिम्मेवारी पनि पाएका छन् । झापाली सिटौलाले गृह जिल्लाका निर्वतमान सभापति उद्धव थापालाई प्रदेश १ को सभापतिको रुपमा अघि सारेका छन् । जसमा देउवा समूहको समर्थन छ । यहाँ देउवा पक्षले उमेदवार खडा गरेन ।

तर, वाग्मती प्रदेशमा अवस्था त्यस्तो सहज छैन । सिटौला समूहबाट भिमसेनदास प्रधान प्रदेश सभापतिमा उमेदवार बनेका छन् । देउवा समूहबाट इन्द्र बानियाँ उमेदवार बनेका छन् । आखिर किन प्रदेश १ र काठमाडौं जिल्लाको जस्तै गठबन्धन बनेर साझा उमेदवार उठाउन गठबन्धनले सकेन त ? सिटौला निकट एक नेता दोस्रो चरणमा सभापतिहरुको भिडन्त पुगेपछि सहकार्य हुने बताउँछन् । ‘पहिलो चरणबाटै एलाइन्स बनाउन खोजेको हो तर सम्भव भएन,’ ती नेता भन्छन्, ‘अब दोस्रो चरणमा त पक्कै सहकार्य हुन्छ, जुन हामीले तल्लो तहबाटै गरिरहेका छौं ।’

विभिन्न जिल्लादेखि प्रदेश १ सम्म भएको सहकार्य वाग्मतीमा किन बिथोलियो त भन्ने बाह्रखरीको प्रश्नमा ती नेता यसलाई सामान्य लिनुपर्ने तर्क गर्छन् । प्रदेश १ मा देउवा समूहले जित्ने अवस्था नभएपछि आफूहरुलाई सभापति छोडिएको बुझाइ उनको छ । ‘प्रदेश १ मा हामी बलियो छौं, कृष्ण दाईको प्रभाव झापादेखि प्रदेश १ का जिल्लाहरुमा दह्रो छ भन्ने बुझाइ उहाँहरुमा छ । त्यो सत्य पनि हो । त्यसैले उनीहरुले उद्धव थापालाई सहयोग गर्न तयार भएका हुन्,’ उनी भन्छन्, ‘वाग्मतीमा भिमसेनजी पनि बलियो हो, इन्द्रजी पनि उठ्नु भयो । पक्कै दोस्रो चरणमा जान्छ र हामी तालमेल गरिहाल्छौं ।’

तल्ला तहदेखि भएको समीरकण केन्द्रमा पनि निरन्तरता दिने मनसाय दुबै समूहको छ । देउवा सिटौला लगेर विमलेन्द्र निधिको खाली ठाउँ भर्न चाहन्छन् । तर, सिटौला भने १४औं महाधिवेशनमा पनि सभापति लड्ने नलड्ने आधिकारिक घोषणा गरेका छैनन् । सिटौला समूहका नेताहरु भने फरक फरक प्रतिकृया दिन्छन् । केही नेताहरु सिटौला देउवाको उपसभापति बस्ने सम्मका टिप्पणी गर्छन् । केही भने सिटौलाले देउवासँग राष्ट्रपति पदमा बार्गेनिङ गर्न भ्याएकोसम्म बताउँछन् । तर, नेता शिव हुमागाईं भने सिटौला सभापतिको उमेदवार भएकाले चाँडै उमेदवारी घोषणा गर्ने दाबी गर्छन् ।

सिटौलाकै विश्वासपात्र भने प्रदीप पौडेल र उमाकान्त चौधरीलाई पदाधिकारीमा अटाउने तथा डेढ दर्जन आफू निकट नेताहरुलाई केन्द्रीय सदस्य बनाएर सिटौला समूहको नेता भएर बस्ने टिप्पणी गर्छन् । केही भने पहिलो चरणमा सभापति लड्ने र दोस्रो चरणमा पुनः देउवालाई सहयोग गर्ने मनसायमा सिटौला रहेको तथ्य सहित दाबी गर्छन् ।

सिटौलाले देउवालाई १३औं महाधिवेशनमा पनि साथ दिएका थिए । १३औं महाधिवेशनमा पहिलो पटक सभापति लड्दा उनले ३ सय २४ मत ल्याएका थिए । सिटौला निकट एक नेता जिल्ला सभापतिमा आफूहरुका २ जना मात्र जित्न सफल भए पनि महाधिवेशन प्रतिनिधिमा ८ प्रतिशतसम्म वृद्धि भएको दाबी गर्छन् ।

‘तथ्यांकमा हेर्दा हामीले २ सभापति जित्यौं, हालसम्म अधिवेशन भएको ६ प्रदेशका ६१ जिल्लालाई आधार मान्दा हामीले कुल महाधिवेशन प्रतिनिधिको २५ प्रतिशत जितेको तथ्यांक हामीसँग छ,’ ती नेता भन्छन् । के त यही मत लिएर केन्द्रीय अधिवेशनमा पनि समीकरण बन्छ भन्ने प्रश्नमा ती नेता अहिले प्रतिकृया दिँदा हतार हुने बताउँछन् । उनी यसलाई स्वार्थगत समीकरण रुपमा चर्चा गर्छन् । टिम जोगाउन पनि समीकरण गरेर अघि बढ्नु परेको उनको भनाइ छ ।

उनी प्रदेश अधिवेशनको नतिजा आएपछि मात्र कुन समूहसँग कस्तो समीकरण गर्ने भन्ने निर्णयमा पुग्न सकिने उनले भने । ‘शेरबहादुर देउवा व्यक्ति मन परेर वा हेरेर हामीले समीकरण गरेको होइन,’ उनी भन्छन्, ‘तर्क गर्न हतार होला, राजनीति सम्भावना र स्वार्थको खेल हो । त्यसैले प्रदेश अधिवेशनको नतिजा आइसकेपछि कोसँग कस्तो समीकरण बनाउने भन्ने निर्णयमा हामी पुग्छौं ।’

प्रतिक्रिया