गण्डकीको जितसँगै रोमान्चक फाइनल समिकरण

काठमाडौं । गण्डकी प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ विकेटले हराएसँगै फाइनल समिकरण रोचक बनेको छ । गण्डकीको जितले दुई टोलीको फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायमै रहेको छ । १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा अर्जुन कुमालले ७० बलमा ६ चौकासहित सर्वाधिक ३५ रनको योगदान दिए । अन्तिम विकेटका लागि किरण पौडेल र सुदीप अर्यालले २० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । किरण २४ बलमा २ चौकासहित १२ रनमा अविजित रहे । सुदीप १९ बलमा २ रनमा अविजित रहे ।

ओपनर उत्सव श्रेष्ठ पहिलो ओभरको चौथो बलमै क्याच आउट भएपनि दोस्रो विकेटका लागि कुमाल र दीपक डुम्रेले ६७ रनको साझेदारी गर्दै गण्डकीलाई सहज जिततर्फ अघि बढाएका थिए । डुम्रे स्पिनर लव कामतको २१ औं ओभरको पहिलो बलमा वैकल्पिक फिल्डर गौरव कटवालबाट क्याच गराएपछि गण्डकीले लगातार विकेट गुमाएको थियो ।

श्रवण किस्कुको बलमा अर्जुन कुमाल आउट हुँदा गण्डकी २५.२ ओभरमा ९७–३ को अवस्थामा थियो । कुमाल आउट भएपछि गण्डकीले एकपछि अर्को विकेट गुमाएको थियो । १६ रन जोड्न ६ विकेट गुमाएपछि गण्डकी बलियो अवस्थाबाट ३० ओभरमा ११२–८ को अवस्थामा पुगेको थियो । स्पिनर दीपेशले २९ औं ओभरमा तीन विकेट लिएपछि गण्डकी समस्यामा परेको थियो । ११६–९ को अवस्थाबाट गण्डकीले रोमान्चक जित हात पारेको हो ।

प्रदेश १ का स्पिनर दीपेश कंडेलले १० ओभर सहित ७ मेडन सहित १० रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । स्पिनर लव कामतले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश ४४.४ ओभरमा १ सय ३३ रनमा अल आउट भएको थियो । प्रदेश १ का दीपेश कंडेलले १ सय १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनको योगदान दिए । सोनु अन्सारी १३, विवेक आनन्द मेहता १४, सोनु भण्डल ११ र दीपक जोशीले १६ रन बनाए ।

गण्डकीका स्पिनर कमल परियारले ६ ओभरमा १ मेडन सहित ३८ रन खर्चेर ३ विकेट लिए । सुदीप अर्यालले ७ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । किरण पौडेल, सुवास भण्डारी, विष्णु पाण्डेले १–१ विकेट लिए । ७ प्रदेशबीच लिगको आधारमा भएको यस प्रतियोगिता शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल मंसिर १९ मा हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । सुदूरपश्चिमले लिगको अन्तिम खेल शुक्रबार बागमतीसँग टियुमा खेल्नेछ । सुदूर अन्तिम खेलमा विजयी भएका ८ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछ । सुदूरपश्चिम पराजित भएमा बागमती फाइनल बाटो खुल्ने छ ।

गण्डकी ६ खेलमा ३ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । गण्डकीको नेटरनरेट माइनस ०.१९० छ । प्रदेश एक ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । गण्डकी पनि बाहिरिएको छ । प्रदेश १ नेटरनरेटको आधारमा बाहिरिएको छ । प्रदेश १ को नेटरनरेट माइनस ०.३०२ छ । बागमती ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । कर्णाली ६ खेलमा ४ मा हार र २ मा जित छैटौं स्थानमा रहेर बाहिरिएको छ । प्रदेश २ ले ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

प्रतिक्रिया