किन कार्यान्वयन भएनन् अपांगतासम्बन्धी कानुनहरू ?

अञ्जु कार्की

राज्यले जे जस्तो व्यवस्था गरे पनि अपांगता भएका व्यक्तिहरूले आफ्नो घरभित्रै सास्ती पाइरहेका छन् । राज्यले गरेको व्यवस्था कागजको खोस्टोसरह बनेको छ । घर बाहिर निस्केपछि पाउने सास्तीको त उल्लेख गरी साध्य नै छैन । अति अशक्तको त कुरै छाडौँ थोरै साहारा पाउँदा पनि मज्जाले जीवनयापन गर्न सक्ने तहका अपांगता भएका व्यक्तिहरूसमेत घरबाहिर सहज रूपमा निस्कने अवस्था छैन ।

काठमाडौं बालाजुका आविष्कार घिमिरे १९ वर्षका भए । जन्मँदै अपांगता भएका उनी अति अशक्त छन् । बोल्न बस्नसमेत सक्दैनन् । अर्काले नै खुवाइदिनु पियाइदिनुपर्छ । दिसापिसाब ओछ्यानमै हो ।

राज्यले यो वर्गका अपांगता भएकाहरूका लागि जहाँ बसोवास हो त्यहीँ सरकारी सुविधा प्रदान गर्ने भनेको सुनेका उनका पिता गत असारमा आविष्कारको नागरिकता प्रमाणपत्र बनाउन भनेर काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीलाई भेट्न गए । सिडिओ पराजुलीले वडा कार्यालयबाट काठमाडौंमा बसोवास भएको प्रमाण ल्याउन भने । सिडिओको सल्लाहबमोजिम उनी आफ्नो र श्रीमतिको मतदाता परिचयपत्र, आफू काठमाडौंमा कार्यरत संस्थाले बनाइदिएको परिचयपत्र, आविष्कारको पूर्ण अपांगता भएको परिचयपत्र तथा आफ्नो घरको निर्माण सम्पन्नताको प्रमाणपत्र बोकेर बडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालकहाँ पुगे । तर, काठमाडौंमा बसोवास भएको सिफारिस दिन रिजाल तयार भएनन् ।

यसै त कोरोनाको लकडाउन, त्यसमाथि पनि मध्य असारको बाढीपहिरो छिचोल्दै छोरा अविष्कारलाई लिएर आफ्नो पुख्र्यौली जिल्ला लमजुङको सदरमुकाम बेसीसहरमा जान घिमिरे दम्पत्ति वाध्य भए । सामाजिक सुरक्षा भत्ताका लागि पनि यो सास्ती खेपेर नागरिकता प्रमाणपत्र बनाउनु परेको उनी बताउँछन् । अपांगताको परिचयपत्र नवीकरणका लागि पनि उनको स्थायी ठेगाना भएको मध्य नेपाल नगरपालिकाले सम्बन्धित व्यक्तिलाई उपस्थित गराउन ताकेता गरेको गरै छ । तर कसरी लैजानु ? यस्तो अपांगता भएको व्यक्तिलाई लिएर जाँदा बास बस्नु कहाँ ? उनी सुनाउँछन् ।

त्यति मात्रै होइन नातागोता, इष्टमित्र तथा साथीभाइहरूले पनि उनलाई सामाजिक चाडपर्वमा निमन्त्रणा गर्न छाडेका छन् । आउने फुर्सद पाउँदैन किन निमन्त्रणा गर्नु ? भनेर खबरै गर्दैनन् । एकजना व्यक्ति २४सै घण्टा आविष्कारको हेरचाहमा खटिनुपर्ने भएकोले एक्लो कमाइले घिमिरेको परिवारलाई काठमाडौंमा महँगीमा बिहान बेलुकाको गर्जो टार्नसमेत धौ धौ परेको छ ।

समस्या अति अशक्त आविष्कार घिमिरेको परिवारको मात्रै छैन । सामान्य सहयोग भयो भने मज्जाले आपैmँ कमाउन सक्ने वर्गका अपांगता भएकाहरूले समेत राजधानी काठमाडौंमै ठूलो सास्ती बेहोर्नुपरेको छ । स्वयम्भुका रमेश थापाले दुग्ध विकास संस्थानमा काम गरेको सात वर्ष भयो । शारीरिक रूपमा फरक क्षमता भएका रमेश आफ्नो कार्यालय पुग्न लाग्ने समय भन्दा एकघण्टा अगाडि घरबाट निस्कन्छन् । यसको एउटै कारण हो उनले दैनिक भोग्नुपर्ने विभिन्न समस्या ।

आउन जानका लागि काठमाडौं उपत्यकाको अव्यवस्थित सडक र कार्यालयमा अपांग मैत्री वातावरण नहँुदा काम गर्न गाह्रो भएको रमेश बताउँछन् । उनी भन्छन् ‘सडक, बाटोघाटो, विद्यालय, अस्पताल, शौचालयलगायत अन्य भौतिक संरचनाहरू अपांगमैत्री नहुँदा ज्यानकै जोखिम बढ्न थालेपछि जागिर नै छोड्ने सोच बनाएको छु ।’ दुई महिनाअगाडि कार्यालयकै शौचालयमा लडे जसको कारण दुई हप्तासम्म अस्पतालमा बसेको रमेशको भनाइ छ । ‘काम गर्न मन भएर के गर्नु तीन तलामाथि कार्यालय छ जानआउन अरूकै सहारा लिनुपर्छ यसैले अब जागिर नै छोड्ने सोच बनाएँ ।’

मनमैजुका सुमन राउत दिनहुँ ह्विलचियरको सहयोगमा अफिस जान्छन् । दिनहुँ आवतजावत गर्न उनलाई निकै मुस्किल पर्ने गरेको छ । ठाउँठाउँमा खनेको हिलो बाटो र खाल्टोको कारणले गर्दा धेरैपटक उनको ह्विलचेयरसमेत फसेको छ । उनी भन्छन्, ‘ह्विलचियरको चक्का सानो हुने कारणले गर्दा धेरैपटक काठमाडौंको बाटोमा भासिने समस्या मैले भोगेको छु, काठमाडांैको कतिपय ठाउँमा भएको स्पिड ब्रेकरले गर्दा ह्विलचियर अड्किने गरेको छ ।’

त्यसो त काठमाडौंका सडक ह्विलचियर प्रयोगकर्ताका लागि उपयुक्त छैनन् । तर, ह्विलचियरमा हिँड्नेहरूले पनि प्रयोग त यही सडक गर्नुपर्छ । सडकको सुधार विस्तार गर्दा ह्विलचियर प्रयोगकर्ताको सुविधा पनि हेरिनुपर्छ भन्ने चेतना जगाउन सकिएको छैन । कलंकी बस्दै आएकी कौशिला मगरको कम्मरमुनीको भाग चल्दैन । उनलाई पनि राजधानीका सडक र भौतिक संरचना सधैँ कष्टपूर्ण लाग्ने गरेका छन् । उनी भन्छिन्, ‘राजधानीका कुनै पनि क्षेत्र हिृवलचियर गुड्नेखालको समतल छैन, अधिकांश सडक धुलो, धुवाँ र खाल्डाखुल्डी परेका छन् । त्यस्तो सडकमा कसरी सवार गरिरहेका छौँ भन्ने पीडा त हामीजस्ता पीडितलाई मात्रै थाहा छ ।’

नेपाल स्पाइनल कर्ड इन्जुरीका अध्यक्ष गायत्री दाहाल सधैँ हिृवलचियरमा हिँड्नुपर्ने हुँदा पछाडिबाट कुनै पनि सवारी साधनले ठक्कर दिने हो कि भन्ने त्रासमा यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँछिन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा कुल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अपांगता भएका व्यक्तिहरू रहेका छन् । अपांगता भएकाहरूलाई सबलांगसरह जीवनयापन गर्न कष्ट हुनु स्वभाविकै हो । नेपालमा अपांगता भएका व्यक्तिको जीवन निकै कमजोर रहेको छ । अन्य व्यक्तिको तुलनामा अपांगता भएका व्यक्तिको बेरोजगारी दर उल्लेख्य छ । अन्य व्यक्तिको तुलनामा अपांगता भएका व्यक्तिको आय निकै कम छ । अपांगता नभएका व्यक्तिको तुलनामा अपांगता भएका व्यक्तिको सेवामा पहुँचको धेरै नै कम छ ।

एक तथ्यांकअनुसार प्रत्येक आठ जना अपांगता भएका व्यक्तिमा एक जनाले मात्रै सहायक सामग्री पाएका छन् । पारिवारिक निर्णय तह तथा मुख्य गतिविधिमा अपांगता भएका व्यक्तिको न्यून संलग्नता छ । सामाजिक प्रतिष्ठा तथा मर्यादामा अपांगता भएका व्यक्तिहरूको अवस्था निकै कमजोर छ । केही अपवादबाहेक अपांगता भएका व्यक्तिहरू हेपाइमा पर्ने गरेका छन् । अपांगताभित्र पनि बौद्धिक अपांगता, अटिजम, मनोसामाजिक अपांगता, श्रवण र दृष्टिविहीन अपांगता भएका अधिकांश व्यक्ति समाजमा देखिन सकेका छैनन् ।

कतिपय अपांगता भएका व्यक्तिहरूलाई परिवारले घरभित्रै लुकाउने, खोरमा थुनेर राख्ने गरेको समेत पाइन्छ । अपांगता हुनुलाई पूर्वजन्मको पापको संज्ञा दिने कुरीति हाम्रो समाजमा अझै विद्यमान छ । सहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रका अपांगता भएका व्यक्तिहरूको अवस्था अझै कष्टकर छ । ग्रामीण क्षेत्रका अपांगता भएका व्यक्तिहरूले राज्यले प्रदान गर्ने सेवा सुविधासमेत प्राप्त गर्न सकेका छैनन् ।

किन भएन कानुन कार्यान्वयन ?
अपांगताको प्रकृतिअनुसार राज्यले उनीहरूको सेवा सुविधामा विभिन्न कानुन, नीति तथा नियमावली तर्जुमा गरेको छ । राज्यले तर्जुमा गरेको सेवा सुविधासम्बन्धी कानुन तथा नियमावलीलाई समेट्दै सर्वोच्च अदालतले २०७४ सालमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी जानकारीमुलक पुस्तिका सार्वजनिक गरेको छ । तर अधिकांश अपांगता भएका व्यक्तिहरू राज्यले प्रदान गरेको हक अधिकारका विषयमा बेखबर छन् ।

राज्यको नीति कार्यान्वयन गर्ने तहमा रहेका कर्मचारी तथा जनप्रतिनिधिहरू समेत अपांगता भएकाहरूको हक तथा अधिकार बारेमा बेखबर छन् । हाम्रो समाज पनि अपांगता भएकाहरूले पाउने हकअधिकारको बारेमा बेखबर छ । अपांगता भएका व्यक्तिहरूका लागि सम्मानपूर्वक बाँच्न पाउने, समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने, शिक्षा, स्वास्थ्य रोजगारी आवास सामाजिक सुरक्षामा प्राथमिकता पाउने हक हुने व्यवस्था नेपालको संविधान तथा कानुनमा छ ।

 

यसैगरी घरवास नभएका अपांगता भएकालाई राज्यले विशेष व्यवस्था गर्ने । निरन्तर अर्काको सहारा चाहिने अपांगताको हकमा उसको सहयोगीलाई समेत हवाई तथा सडक यातायातमा आधा भाडा छुट दिइने, अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीमा कर छुट हुने व्यवस्था ऐनमा छ । वृद्ध अपांगता भएका व्यक्ति तथा असाहय अपांगता भएकालाई बसोवासका लागि अपांग घरको व्यवस्था गरिदिने, अपांगता भएका व्यक्तिका लागि सम्बन्धित जिल्लामा निःशुल्क कानुनी सहायता कक्षको व्यवस्था गर्ने, अति अशक्तलाई घरमै गएर सरकारी सेवा प्रदान गर्ने लगायतको व्यवस्था राज्यले गरेको छ ।

राज्यले जे जस्तो व्यवस्था गरे पनि अपांगता भएका व्यक्तिहरूले आफ्नो घरभित्रै सास्ती पाइरहेका छन् । राज्यले गरेको व्यवस्था कागजको खोस्टोसरह बनेको छ । घर बाहिर निस्केपछि पाउने सास्तीको त उल्लेख गरी साध्य नै छैन । अति अशक्तको त कुरै छाडौँ थोरै साहरा पाउँदा पनि मज्जाले जीवनयापन गर्न सक्ने तहका अपांगता भएका व्यक्तिहरूसमेत घरबाहिर सहज रूपमा निस्कने अवस्था छैन ।

घरबाहिर निस्केदेखि नै थप सास्ती झेल्नुपर्ने हुन्छ । अपांगता भएका व्यक्ति हिँड्ने सडकपेटीको व्यवस्था छैन । ह्विलचियर गुडाउने ठाउँ छैन । सार्वजनिक यातायातका साधनहरूले अपांगता भएका व्यक्तिलाई चढाउन मान्दैनन् । सार्वजनिक यातायातका साधन अपांगता मैत्री नभएकोले अर्काको साहाराविना चढ्न र ओर्लन सक्ने अवस्था छैन । यातायातका साधनमा चढिहाले पनि गन्तव्य आइपुगेको जानकारी दिने व्यवस्था छैन । गन्तव्यमा पुगिसकेपछि झेल्नुपर्ने सास्ती छँदै छ । अधिकांश कार्यालयहरूको भौतिक संरचना अपांगतामैत्री छैन । भुइँतलामा पुग्नसमेत नसकिने अवस्थामा माथिल्लो तलमा रहेका हाकिमसम्म अपांगता भएका व्यक्ति पुग्न सक्ने संभावना नै रहन्न ।

सार्वजनिक शौचालयहरू ज्यादै न्यून छन् । त्यसमा पनि अपांगता मैत्री शौचालयहरू त केही अस्पतालमाबाहेक अन्यत्र छँदै छैनन् । खासगरी अपांगता भएका महिलाहरूका लागि शौचालयको समस्या निकै कहालीलाग्दो छ । अरू अधिकारको त कुरै छाडौँ सामाजिक सुरक्षा भत्ताको पहुँचमा समेत अधिकांश अपांगता भएका व्यक्तिहरू वञ्चित छन् ।

बढ्दो संवेदनहीनता
अरू प्राणीहरूका तुलनामा मानिसका अंगहरू कमजोर हुन्छन् । सामान्य दुर्घटनामा पनि मान्छे अंगभंग हुन्छ । अधिकांश प्राणीहरूको भन्दा मानिसको उमेर लामो हुन्छ । उमेर घर्कंदै जाँदा अरू अरू प्राणीहरूका अंग सवल नै रहन्छन् तर मानिसका अंगहरू बने दुर्वल हुँदै जान्छन्, आँखाले ठम्याउन छाड्छ, कानले सुन्न छाड्छ, हातगोडाहरू लुला हुँदै जान्छन्, बोली अप्रष्ट हुँदै जान्छ । मानिसलाई प्रकृतिले केही वरदान पनि दिएको छ । केही अभिशाप पनि दिएको छ । सिर्जना गर्ने क्षमता वरदान हो, तर बुढ्यौलीका कारण अपांगता हुनु, सामान्य दुर्घटनामा पर्दा पनि अपांगताको सिकार हुनु प्राकृतिकले मानिसलाई दिएको अभिशाप हो ।

तर, शरीरका कुनै कुनै अंगले काम नगरे पनि मानिसको सिर्जनात्मक क्षमता भने अन्तिमसम्म पनि रहिरहन्छ । त्यसैले मान्छे भनेको शरीरका अंगभन्दा पनि मस्तिस्क हो । मानिसले आफ्ना निर्वल अंगको विकल्पमा मस्तिस्कले सजिलै नयाँ नयाँ सिर्जना तथा आविष्कार गरिरहेको हुन्छ । तर यो यथार्तताको बोध हाम्रो समाजमा अझै छैन । मानिस भएर मानिसको यथार्थता बुझ्न मद्दत पु¥याउने भनेको शिक्षा र चेतनाले हो । तर, हाम्रोजस्तो अशिक्षित र चेतनाशून्य मुलुकमा अपांगतालाई मानिसको स्वभाविक र अपरिहार्य नियतिको रूपमा लिन नसक्ने मानिसहरू पनि छन् । उदाहरणका लागि अपांगताको अभिनय गरेर दर्शक हसाउने तुच्छ शैली अपनाउनेहरूलाई हास्य कलाकारको दर्जासमेत दिइने गरिएको छ । अपांगताको क्यारिकेचर गर्नुलाई कलाकारिता ठान्नेहरूको जमात अझै पनि हाम्रो मुलुकमा छ ।

प्रतिक्रिया