दाङमा माछा उत्पादक फास्टाउँदै

पछिल्लो समय दाङमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । नदी, खोला र प्राकृतिक पोखरीमा पालिने गरेकामा अब कृत्रिम पोखरी बनाएर व्यावसायिक रूपमा पालिएको माछाले यहाँको माग धान्न थालेको छ । राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अघिसम्म थोरैले माछापालन गर्दै आए पनि अहिले व्यावसायिक रूपमै माछापालन गर्ने किसान बढ्दै गएका छन् । माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ किसानको रुचि बढेको छ ।

देउखुरी उपत्यकाअन्तर्गत लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन निकै फस्टाएको छ । घोराही उपहानगरपालिका–५ धर्ना त माछापालनका लागि पकेट क्षेत्र घोषणा नै गरिएको छ । त्यहाँ माछापालक किसानलाई भेटेरीनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र मत्स्य विकास केन्द्रले अनुदान तथा प्राविधिक सहयोग पु¥याउँदै आएको छ । जिल्लाका बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसान बताउँछन् । थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यस व्यवसायमा आकर्षण बढ्दै गएको घोराही–५ धर्नाका कृषक सरोज डिसीले बताए । उनले कृषि फर्म स्थापना गरी १७ पोखरीमा करिब दुई लाख माछापालनबाट वार्षिक ४० लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएका छन् । माछापालनबाट राम्रो आम्दानी भएपछि खेतीयोग्य जमिनमा पोखरी बनाई उनले माछापालन व्यवसाय सुरु गरेका हुन् । माछाको हेरचाह र दाना दिनका लागि दुई स्थानीयवासीलाई रोजगारी पनि दिएका छन् उनले । ‘व्यावसायिक रूपमै माछापालन गर्न थालेकाले व्यवसायमा लगानीसमेत बढ्दै गएको छ,’ उनले भने । उत्पादित माछा घोराही र तुलसीपुरका बजारमा लगिने तथा स्थानीयस्तरका व्यापारीले खरिद गरेर लाने गरेको डिसीले बताए ।

लमही –५ का टीकाराम गिरीले तीन बिघा क्षेत्रफलमा पोखरी बनाई माछा पालन गरेका छन । २० लाख रुपैयाँ लगानीबाट व्यवसाय सुरु गरेका उनको अहिले लगानी बढेर ८० लाख पुगेको छ यसबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको छ । उनले उत्पादन गरेको माछा दाङका लमही, भालुवाङ र गढवाका साथै छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ । माछापालन व्यवसायबाट आफू सन्तुष्ट भएको उउनले बतनए । ‘अरू व्यवसायभन्दा माछा पालेर राम्रो आम्दानी भएको छ, त्यसैले हामी यता लागेका हौँ,’ उनले भने ।

अर्का स्थानीय वीरबहादुर रावतले घोराही–१८ रझेनामा चार वर्षदेखि माछा बिक्री गर्दै आएका छन् । भ्याली फ्रेस हाउसका सञ्चालक रावत दैनिक २० देखि ३० किलो माछा बिक्री गर्छन् । पहिले कुखुरा काटी बिक्री गर्ने उनी अचेल पसलका छेउमा सानो पोखरी बनाएर जिउँदो माछा राखी ग्राहकको मागअनुसार जिउँदो माछा बिक्री गर्छन् । ‘गर्मीमा भन्दा जाडो समयमा माछा धेरै खपत हुने गर्छ, दाङमा उत्पादन भएको माछाले यही जिल्लालाई धान्छ,’ उनले भने । उनका अनुसार देउखुरी र दाङमा उत्पादन भएको माछा बाह्रै महिना उपलब्ध हुने भएकाले सजिलो भएको छ ।

माछाको जातअनुसारको मूल्य फरकफरक हुन्छ । उनी बैखा, सहु, कमनग्रास र रूपचन्दन जातका माछा बिक्री गर्छन् । उनका अनुसार प्रायः दीर्घरोगी र अन्य रोगीले माछा खाने गर्छन् । रावत प्रतिकिलो जिउँदो माछा प्रतिकिलो ३ सय ६० देखि ४ सय ४० सम्म बिक्री गरी दैनिक राम्रो आम्दानी गर्दै आएका छन् ।

माछामा प्रशस्त भिटामिन ‘डी’ पाइन्छ । यसको सेवनबाट क्याल्सियम पनि प्राप्त भई मानिसको हाड बलियो गराउँछ । नियमित माछा खानाले दिमाग सधैंँ तेजिलो रहन्छ र दृष्यशक्ति बढाउनका साथै आँखालाई सधैंँ स्वस्थ्य राख्छ । उच्च रक्तचाप नियन्त्रण गर्न माछाको सेवन गर्नुपर्ने चिकित्सक सुझाव दिन्छन् । रातो मासु पचाउन झण्डै ३२ देखि ३६ घण्टा लाग्ने गर्छ तर माछा दुईदेखि तीन घण्टामा पच्छ ।

खासगरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र घोराहीका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताए । बजारमा भारतबाट ल्याइने माछाको आयात कम गर्न र माछा उत्पादनले जिल्ला आत्मनिर्भर बनोस् भनेर ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’ अन्तर्गत दाङमा कार्यक्रम अगाडि बढाइएको हो । ‘अहिले रोजगारीका लागि युवा विदेश गइरहेको अवस्था छ, विदेश जाने युवाले सानो लगानीमा पनि माछापालन व्यवसाय गर्न सक्छन् । त्यसैले तिनलाई माछापालन व्यवसाय गर्न प्रोत्साहन होस् भनेर आवश्यक सीप सिकाउने गरेका छौँ,’ उनले भने ।

जिल्लामा बर्सेनि माछापालन व्यवसायी बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङको तथ्यांकमा उल्लेख छ । मत्स्य विकास अधिकृत यादवका अनुसार हालसम्म माछापालनमा करिब सात करोड रुपैयाँ लगानी भएको छ । कार्यालयका अनुसार जिल्लामा २ सय १७ कृषकले माछापालन व्यवसाय गर्दै आएकामा ६५ जनाले व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन् । जिल्लामा ५ सय १ पोखरी तथा ३० घोलताल (प्लास्टिकको आधुनिक पोखरी) मा माछापालन गरिँदै आएको छ । माछापालन गरिने क्षेत्रफलसमेत बढ्दै छ । यादवका अनुसार दुई वर्षअघि १ सय २५ हेक्टर क्षेत्रफलमा माछापालन भएकामा अहिले करिब १ सय ४१ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुरु भएसँंगै माछापालन व्यवसायलाई प्रवद्र्धनका लागि अनुदान सहयोग हुन थालेपछि जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको छ ।

जिल्लामा बैखा जातको माछा एक कठ्ठामा चार क्विन्टल तथा कार्प जातको माछा दुईदेखि चार क्विन्टल उत्पादन हुने गरेको छ । खासगरी बैखा र मंगुर जातका माछा भारतमा उत्पादन हुन्छ भने कार्प र रहु जातका माछा यहाँ उत्पादन हुन्छ । पछिल्लो समय जिल्लामा माछापालन व्यवसायमा यान्त्रिकीकरण अभिवृद्धि भई उत्पादन क्षेत्रफल र परिमाणसमेत बढेको छ । यहाँ उत्पादन भएको माछाले माग धान्ने गरी गतिविधि गरिएको छ । हाल जिल्लामा उत्पादित माछा छिमेकी बाँकेको नेपालगञ्जलगायत पहाडी जिल्ला रोल्पा, रुकुम, सुर्खेत, सल्यान र प्युठानमा निर्यात गरिन्छ । माछाको बजार राम्रो रहेकाले कृषकलाई राम्रो फाइदा भएको भेटेरिनरी अस्पताल दाङले जनाएको छ ।

दाङमा माछा खपत पनि बढ्दै गएको छ । केही वर्षअघिसम्म भारतबाट ल्याएर उपभोग हुने गरेकामा अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको छ । कुनै समय माछाका लागि अरू जिल्लामा भर पर्ने दाङले अहिले बर्सेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको मत्स्य विकास अधिकृत यादवले जानकारी दिए । जिल्लाका करिब २ सय २५ व्यावसायिक कृषक माछापालनमा आबद्ध छन् । बर्सेनि करिब ६ सय मेट्रिक टन उत्पादन हुने भेटेरिनरी अस्पताल दाङले जनाएको छ ।

कुनै समय कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पङ्गास प्रजातिका माछापालन हुन थालेसँगै माछा उत्पादनमा बढोत्तरी भएको मत्स्य विकास अधिकृत यादवले बताए । ‘पहिलेपहिले कार्प प्रजातिमा कमन, सिल्भर, रहु, नैनीलगायत माछापालन हुन्थ्यो । अहिले त पङ्गास प्रजातिका बैखालगायत माछापालन हुन थालेसँगै उत्पादन पनि बढेको छ,’ यादवले भने ।
खासगरी, चैत, वैशाख, जेठ महिनामा बाहिरी जिल्लाको माछामा भर पर्नुपर्ने अवस्था रहेकामा बिस्तारै निर्भरता अन्त्य हुने चरणमा छ । बाँकी समय भने यहीँको उत्पादनले बजारको माग धान्ने गरेको छ । व्यावसायिक रूपमा माछापालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र सरकारले पनि माछापालनका लागि कृषकलाई सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ कृषकको रुचि बढ्दै गएको छ ।

विज्ञ केन्द्रका प्रमुख डा. वेदबहादुर केसीले जिल्लामा माछाको खपत बढाउनका लागि बाह्रै महिना उपलब्ध हुन सक्ने गरी योजनाका साथ कार्यविधि बनाएर काम गर्न थालिएको बताए । उनका अनुसार जिल्लामा अहिले पनि वार्षिक प्रतिव्यक्ति १ दशमलव शून्य ८ केजी माछा मात्रै खपत हुने गरेको छ । माछा उत्पादन बढाउन र कृषकलाई मत्स्यपालनमा टेवा दिन चालु आर्थिक वर्ष ०७८ । ०७९ का लागि लुम्बिनी प्रदेश सरकारबाट फिस मिसन कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको मत्स्य विकास प्रमुख डा. केसीले बताए । उनका अनुसार उक्त रकम पोखरी निर्माणका लागि माछापालक कृषकलाई सहुलियतमा प्रदान गरिनेछ । सोअन्तर्गत प्रतिहेक्टर पोखरी निर्माणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।
केन्द्रले जिल्लामा माछापालन प्रवद्र्धन गर्न र नदीको पर्यावरणीय सन्तुलन कायम गर्ने बबई खोलामा यही मंसिर ६ गते मत्स्य दिवसका अवसरमा रहु र नैनी जातका पाँच हजार माछाका भुरा छाडेको छ । दाङ मत्स्य व्यवसायी संघका अध्यक्ष विवेक श्रेष्ठले जिल्लालाई माछाको पनि पहिचान दिन र आत्मनिर्भर बनाउन संस्था लागिपरेको जानकारी दिए ।

संघले मत्स्यपालकलाई प्राविधिक सहयोग गरिरहेको जनाइएको छ । ‘जिल्ला माछापालनमा आत्मनिर्भर हुँदै गएकामा हामी खुसी छौँ, माछापालन व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्छ,’ उनले भने, ‘स्थानीय तहले पनि माछाको बजारीकरणमा भूमिका खेल्नुपर्छ ।’

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माछा व्यवसायीलाई प्रोत्साहन गर्न कृषि कार्यक्रम ल्याइने जानकारी दिए । उनका अनुसार माछाको बजारीकरणका लागि आफ्नो उपमहानगरपालिकाले निश्चित ठाउँमा बिक्री केन्द्र स्थापना गर्नेछ ।

प्रतिक्रिया