बाघको संख्या बढाउन चुनौती

मंसिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका लागि नौ सय क्यामेरा र सय गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा विभाजन गरी बाघ गणना अघि बढाइने जानकारी दिए । पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना गरी सक्ने उनले बताए । निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्रयापिङ गरिने बताए ।

बाघ गणनाको समयमा मंसिर १९ देखि २० गतेसम्म मध्यवर्ती वन क्षेत्र र क्यामेरा ट्रयापिङमा राखिएको राष्ट्रिय वनमा घाँस, दाउरा काट्न लागि नजानसमेत आचार्यले आग्रह गरेका छन् । ‘बाघ एकदमै लजालु जनावर हो,’ आचार्यले भने, ‘क्यामेरा ट्रयापिङको क्रममा मानिसको मुभमेन्ट भयो भने बाघ नदेखिन सक्छ ।’

बाघ गणनाका क्रममा प्रत्येक स्थानमा एक जोडी क्यामेरा राखिँदैछ । एकजोडी क्यामेराको दुरी आठदेखि १६ मिटरसम्म रहने तर दुवै क्यामेराले एउटै बाघको एकैपटक फोटो खिच्ने आचार्यले बताए । ‘बाघ गणनाको क्रममा निकुञ्जलाई ग्रिड (बाघको क्षेत्र निर्धारण गर्दै वर्गाकार बनाउने) मा विभाजन गर्नेछौँ,’ उनले भने, ‘एक जोडी क्यामेराबाट अर्को जोडी क्यामेराको दुरी एकदेखि दुई किलोमिटर रहनेछ ।’

जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा क्यामेरा राखिँदैछ । बाघ हिँड्ने बाटोलाई केन्द्रमा राख्दै गणनाका लागि चारदेखि आठ मिटरको दुरीमा क्यामेरा राखिनेछ । यसपटक बाघको मात्रै गणना हुने भएकाले गणना सकिएर नजिता प्रकाशन भएपछि पुनः अन्य जनावरको गणना गरिने आचार्यले बताए । ‘अघिल्लो पटक बाघ र अन्य जनावरको एकैपटक गणना गरिएको थियो,’ उनले भने, ‘अहिले जंगलमा झाडी भएका कारण अन्य जनावरको गणनामा समस्या हुन भएकाले मार्चपछि मात्रै गणना गर्छौं ।’

बाघ गणनाका लागि प्रयोग भएका क्यामेरा चोरी हुने तथा नष्ट हुने डर रहेको निकुञ्जले जनाएको छ । यसअघिका गणनामा केही क्यामेरा चोरी भएका तथा केही हात्ती र बाघले नष्ट गरेको पाइएको आचार्यले बताए । ‘बाघको फोटो खिच्न राखिने क्यामेरा बाघको फोटो खिच्नबाहेक अन्य काममा प्रयोग गर्न सकिँदैन,’ उनले भने, ‘बाघ गणनामा स्वचालित क्यामेरा प्रयोग हुनेछ, त्यसले बाघको मात्रै फोटो खिच्ने गरी निर्माण गरिएको हुन्छ, अन्य कुनै पनि प्रयोजनमा काम लाग्दैन ।’

सन् २०१० मा रसियाको सेन्ट पिटरवर्गमा भएको बाघ पाउने १३ मुलुकको सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले सन् २००९ मा नेपालमा १ सय २१ बाघ भएकामा सन् २०२२ सम्म २ सय ५० बाघ पु¥याउने प्रतिबद्धता जनाएअनुसार संरक्षणको काम भइरहेको जानकारी दिए । ‘हरेक पाँच वर्षमा बाघ गणना गरिँदै आएको छ,’ उनले भने, ‘सन् २०१३ मा बाघको संख्या १ सय ९८ पुग्यो, सन् २०१८ को गणनामा बाघको संख्या २ सय ३५ पुगेको छ ।’

अघिल्लो गणनामा बाघको संख्या २ सय ३५ पुगेको भए पनि अबको गणनामा बाघको संख्या २ सय ५० पुग्नेमा चुनौती रहेको साहले बताए । ‘कुनै पनि वन्यजन्तुको संख्या वृद्धि भइरहँदैन,’ उनले भने, ‘निश्चित विन्दुमा पुगेपछि स्थिर वा घट्ने क्रम सुरु हुन्छ, नेपालका संरक्षित क्षेत्रमा समेत बाघको संख्या वृद्धि गर्नु अब चुनौती बन्दै गएको छ ।’ यस पटकको गणनामा १५ बाघ थपिएको अवस्थामा संख्या दोब्बर पु¥याउने नेपाल पहिलो देश हुने उनले बताए ।

‘बाघको संख्या वृद्धिका लागि हामीले बासस्थान व्यवस्थापन, चोरी सिकारी नियन्त्रण, संरक्षण शिक्षा लगायतमा जोड दिँदै आएका छौँ,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले भने, ‘सरकारी संयन्त्रका साथै समुदायको साथ र सहयोगबाट बाघको संख्या वृद्धि हुनेमा हामी आशावादी छौँ ।’ चितवन राष्ट्रिय निकुञ्जमा सन् २००८ को तुलनामा २०१३ मा बाघको संख्या वृद्धि भएको देखिए पनि सन् २०१८ मा भने बाघको संख्या घट्दा चुनौती थपिएको आचार्यको भनाइ छ ।

चितवन निकुञ्जमा सन् २००९ मा ९३, सन् २०१३ मा १ सय २० र सन् २०१८ मा ९३ मात्रै बाघ भेटिएका थिए । त्यस्तै शुक्लाफाँटामा पनि सन् २०१३ र २०१८ को गणनामा बाघको संख्या स्थिर देखिएको आचार्यको भनाइ छ । शुक्लाफाँटामा सन् २००९ मा आठ, २०१३ मा १७ तथा २०१८ मा १६ वटा मात्रै बाघ भेटिएका थिए । पछिल्ला गणनामा पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या बढेको थियो । सन् २००९ को गणनामा पर्सामा चार, बर्दियामा १८ बाघ पाइएकामा सन् २०१३ मा पर्सामा सात, बाँकेमा चार तथा बर्दियामा ५० बाघ भेटिएका थिए । त्यस्तै सन् २०१८ मा पर्सामा १८, बाँकेमा २१ तथा बर्दियामा ८७ बाघ भेटिएका थिए । सन् २००९ मा बाँकेमा बाघ गणना गरिएको थिएन ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले बाघ लजालु जनावर भए पनि मानवीय कारणले हिंस्रक बनाएको बताए । ‘कुनै नयाँ कुरा देखेपछि बाघ तर्किएर हिँड्छ,’ उनले भने, ‘हाम्रै कारणले बाघ हिंस्रक बन्दैछ, हामीले बाघको क्षेत्रमा अवरोध पुर्याउँदा उसले मानिसमाथि आक्रमण गर्न सुरु गरेको हो ।’ बासस्थान संरक्षण, आहाराका कारण बाघको जनसंख्यामा प्रभाव पर्ने उल्लेख गर्दै ढुंगानाले बाघका कारण सिंगोे पर्यावरण नै प्रभावित हुने बताए ।

नेपालमा बाघ पाइने क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जलाई दोस्रो कम्प्लेक्स तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको पुनर्वासमा पर्ने लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघ गणना हुँदैछ । चितवन–पर्सा कम्प्लेक्सलाई पनि तीन क्लस्टरमा विभाजन गरेर बाघ गणना गरिनेछ । बाघ गणनाको नजिता भने सन् २०२२ को मार्च महिनाभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाइँदै छ ।

प्रतिक्रिया