‘ए’ डिभिजन लिग मनाङ अंक नगुमाउने एक्लो टोली

काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सोमबार दोस्रो चरणको समाप्ती सम्म आइपुग्दा शतप्रतिशत सफल नतिजा निकाल्ने मनाङ मर्स्याङ्दी क्लब एक्लो टोली रहेको छ । लिगको सर्वाधिक सफल टोलीले वाह भन्ने खेल प्रदर्शन गर्न नसकेपनि दुवै खेलमा १–० का जित निकाल्न सफल भएको छ । पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराएको मनाङले दोस्रो चरणमा हिमालयन शेर्पा क्लबलाई सोही अन्तरमा हराएको थियो । दोस्रो चरणमा अप्रत्यासित नतिजाको शिकार भने लिगको पूर्व विजेता टोली थ्री स्टार क्लब रहेको छ । पहिलो खेलमा छिमेकी च्यासल युथ क्लबमाथि ३–० को नतिजा निकालेको थ्री स्टार दोस्रो चरणमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग १–० ले स्तब्ध भएको थियो । दुई खेलमा अपराजित रहेको सातदोबाटोसँगै ५ टोलीको समान ४ अंक छ ।

दोस्रो चरणमा मनाङसँगै सातदोबाटो, संकटा क्लब, च्यासल, नेपाल पुलिस क्लबले जित निकाले । अन्तिम दिन सोमबारको खेलमा ब्रिगेड ब्वाइज क्लब र न्यूरोड टिम तथा त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेले । गत संस्करणको विजेता मछिन्द्र र उपविजेताले यसपटक दोस्रो खेलमै एकअर्काको सामना गर्दा गोलरहित बराबरीमा चित्त बुझाउनु परेको थियो । दोस्रो चरण सम्म आइपुग्दा सहभागी १४ मध्य आधा टोली अपराजित छन् । मनाङसँगै संकटा, बिबिसी, मछिन्द्र, पुलिस, सातदोबाटो र आर्मी अपराजित छन् । पहिलो चरणको दाँजोमा दोस्रो चरणमा गोल संख्या आधा भन्दा पनि कम भएको छ । पहिलो चरणमा १६ गोल हुँदा दोस्रो चरणमा भने ७ गोल मात्र भएको थियो । सबै ७ गोल नयाँ अलग अलग खेलाडीले गरेका छन् ।

७ खेलमा ५ खेलमा हार जित हुँदा २ खेल गोलरहित बराबरीमा टुंगिएको छ । ४ खेल १–० को र एक खेल २–१ को नतिजाका साथ टुंगिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ । जबकी सोमबार तेस्रो देखि नवौं चरण सम्मको खेल तालिका सार्वजनिक बताइएको थियो । तेस्रो र चौथो चरणका १४ खेल दशरथ रंगशालामा नै हुने भएको छ ।

तेस्रो चरणको पहिलो खेल मंसिर १७ गते दुई ललितपुरे टोली फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । सोही दिन सातदोबाटो युथ क्लब र एपिएफ फुटबल क्लबले एकअर्काको सामना गर्नेछ । त्यस्तै चौथो चरणको पहिलो खेल मंसिर २४ गते मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । सोही दिन च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एन्फाले दशरथ रंगशालासहित राजधानीका ३ र पोखरा रंगशालाको प्रयोग गर्ने भनिएपनि अहिले सम्म अन्य मैदानमा कहिले खेल हुने तय भएको छैन । मनाङले आफ्ना ५ खेल पोखरामा खेल्नका लागि अन्य क्लबसँग पहल गरेपनि निर्णय भने भइनसकेको बताइएको छ । च्यासल मैदान अहिले सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नै हस्तान्तरण नभएकाले त्यहाँ लिग हुने सम्भावना कम छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भने केहि खेल हुने लिगका निर्देशक सञ्जिव मिश्रले बताएका छन् ।

प्रतिक्रिया