सदस्य सचिव घिसिङले लिए राखेपको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई सपथ गराएका थिए । घिसिङले मंगलबारैै राखेपमा पुगेर पदभार ग्रहण गर्ने राखेपले जनाएको छ ।

मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । नेकपा माओवादीका नेता समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुन् । मन्त्री गहतराजको प्रस्तावमा मन्त्री परिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको थियो । सदस्य सचिवका लागि निवेदन दिएका १८ जनाबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको दिएको थियो । सोही नाम मन्त्री गहतराजले मन्त्री परिषद् लगेका थिए ।

मन्त्री गतहराजले मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका थिए । मन्त्री परिषद्ले कात्तिक १ गते राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । सिलवालले बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुन् । गत वर्ष असारमा ऐन लागू भएपछि सिलवाल पहिलो सदस्य सचिवका रुपमा नियुक्त भएका थिए ।

प्रतिक्रिया