आजदेखि सर्वोच्चमा गोलाप्रथा

काठमाडौं । सर्वोच्च अदालतमा बुधबारदेखि गोलाप्रथा लागू हुने भएको छ । फुलकोर्टको निर्णयपछि सर्वोच्च अदालत नियमावली संशोधन भएर राजपत्रमा प्रकाशित भइसकेको छ । यससँगै बुधबारदेखि प्रधानन्यायाधीशले इजलास गठन गर्ने र मुद्दाको पेसी तोक्ने व्यवस्था पूर्ण रुपमा अन्त्य हुनेछ । यसअघि कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पार्ने भनेर प्रधानन्यायाधीशले तोक्ने काम हुन्थ्यो । गोलाप्रथा सुरु भएसँगै अब प्रधानन्यायाधीशको यो अधिकार कटौती हुनेछ । अदालतका विकृति र सुधारका लागि गर्नुपर्ने प्रयास अध्ययन गर्न न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति बनाइएको थियो । उक्त समितिले स्वचालित पेसी व्यवस्थापन लागू गर्न सुझाव दिएको थियो । तर स्वचालित प्रणाली सञ्चालन गर्न समय लाग्ने भएकाले तत्काल गोलाप्रथा सुरु गर्ने निर्णय फुलकोर्टले गरेको हो ।

गोलाप्रथा सुरु गर्न न्यायाधीश मीरा खड्का नेतृत्वको समितिले कार्यविधि तयार गरेको थियो । सोही कार्यविधिअनुसार अब इजलास गठन र मुद्दाको सुनुवाइ हुनेछ । प्रधानन्यायाधीशले स्वार्थअनुसार पेसी तोकेको र मुद्दा प्रभावित गरेको भन्दै कानुन व्यवसायी र सर्वोच्चकै न्यायाधीशहरुले समेत आपत्ति जनाउँदै आएका थिए । चौतर्फी आलोचना र अध्ययनको निष्कर्षअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पनि गोलाप्रथा लागू गर्न तयार भए । के कसरी गर्ने भन्ने सम्पूर्ण जिम्मा नै उनले न्यायाधीशहरुलाई दिएका थिए ।

गत कात्तिक ७ गतेबाट प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरु पनि गोलाप्रथा लागू हुने भएपछि इजलास फर्किन तयार भएका थिए । यसबीचमा उनीहरुले नियमित मुद्दामा सुनुवाइ गरेका छैनन् । गोलाप्रथा सुरु भएसँगै सबै न्यायाधीशले सबै मुद्दाको सुनुवाइ थाल्ने निर्णय गरिसकेका छन् । बुधबारबाट पेसी सर्वोच्च लयमा फर्किंदैछ । यता प्रधानन्यायाधीशलाई भने कानुन व्यवसायी र न्यायाधीशहरुले इजलासमा स्वीकार गरेका छैनन् । प्रधानन्यायाधीश राणा कोराना संक्रमणका कारण अस्पतालमा छन् । उनी गोलाप्रथा सुरु गर्दा सोही कारण सहभागी हुने छैनन् । गोलाप्रथाले पेसी व्यवस्थापनलाई पारदर्शी र विश्वासनीय बनाउने जानकारहरु बताउँछन् ।

यसरी गठन हुन्छ इजलास
प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार एवम् मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी र सूचना प्रविधिको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसीसूची निर्धारण गरिने कार्यविधिमा उल्लेख छ । साप्ताहिक र पूरक पेसीको सूचीमा भएका तथा भैपरी आउने मुद्दाको सुनुवाइका लागि गोला प्रक्रियाबाट बृहत् पूर्ण, पूर्ण, एकल इजलास र संयुक्त इजलास गठन हुनेछ । सबै एउटै रुप, रङ्ग, आकार र बनावटका गोटी प्रयोग गरिनेछ । सबै गोटीलाई एउटा अपारदर्शी थैलीमा राखिनेछ । त्यसपछि प्रधानन्यायाधीश र न्यायाधीशहरुले वरिष्ठताका आधारमा एक एक वटा गोटी तान्नेछन् ।

न्यायाधीशहरुले आफूले तानेको गोटी सबैलाई देखाएर संकेत अंक सुनाउने छन् । त्यसको अभिलेख कम्प्युटरमा समेत राखिनेछ । संकेत अंक अनुसार इजलास गठन हुने गरी कम्प्युटर प्राविधिकले अपडेट गर्नेछन् । कारणवश कुनै इजलासमा सहभागी हुन नसक्ने अवस्थामा बाहेक प्रधानन्यायाधीश वा न्यायाधीशहरु आफैँ गोला प्रक्रियामा सहभागी हुनेछन् । बृहत् पूर्ण इजलास, पूर्ण इजलास, एकल इजलास र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गरिने र यस प्रयोजनका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था गरिनेछ ।

पूर्ण इजलास गठन गर्दा त्यो दिन उपस्थित भएका न्यायाधीशको संख्या जति नै गोटी थैलीमा राखिनेछ । जस्तो कि, १८ जना न्यायाधीश उपस्थित हुने दिन १ देखि १८ अंकसम्मका गोटी रहनेछन् । अनि उपस्थित न्यायाधीशले वरिष्ठताका आधारमा गोटी तान्नेछन् । बृहत् पूर्ण इजलास गठन गर्दा जति सदस्यीय इजलास गठन गर्ने हो १ देखि त्यही अंकसम्म पर्ने न्यायाधीशको इजलास गठन हुनेछ । एउटा मात्र पूर्ण इजलास गठन गर्दा १ देखि ३ अंकसम्म गोटी तान्ने न्यायाधीशको इजलास गठन हुनेछ । दुई वटा गठन हुने भएमा ४ देखि ६ अंकसम्म तान्नेको अर्को पूर्ण इजलास गठन हुनेछ ।

बृहतपूर्ण इजलास गठन गर्नुपर्दा १ देखि ५ अंक तान्ने न्यायाधीशको बृहत् पूर्ण इजलास र बाँकी ६, ७ र ८ को पूर्ण इजलास गठन हुनेछ । एकभन्दा बढी संख्यामा पूर्ण इजलास गठन गर्नु पर्ने भएमा यही क्रमले हुनेछ । पूर्ण इजलास भएको दिन एकल इजलास गठन गर्दा पहिले पूर्ण इजलासका लागि गोला तानिसकेपछि एकल न्यायाधीशको गोला तानिनेछ । पूर्ण इजलास नभएको दिन सुरुमा एकल इजलास र पछि संयुक्त इजलास गठन हुनेछ ।

बृहत् पूर्ण र पूर्ण इजलासमा परिसकेका न्यायाधीशबाहेकका न्यायाधीशले मात्रै एकल इजलासका लागि गोला तान्नेछन् । एकल इजलास गठन गर्दा जतिवटा इजलास गठन गर्ने हो, त्यसलाई अ, आ अंकित गोटी राखिनेछ । बाँकी खालि गोटी रहनेछन्। तर सुरुमा संयुक्त इजलासका लागि जोर संख्यामा न्यायाधीश रहने गरी एकल इजलास एउटा वा दुईवटा गठन गर्ने भन्ने टुंगो गरिनेछ । एउटा मात्र एकल इजलास गठन हुने दिन पहिलो गोटी अ वा आ आउँछ सोही समूहको मुद्दा सुनुवाइ गरेर अर्को समूहको मुद्दा स्थगित गरिनेछ ।

संयुक्त इजलास गठन अन्तिममा हुनेछ । बृहत् पूर्ण, पूर्ण र एकल इजलास गठन भइसकेपछि उपलब्ध जोर संख्याका न्यायाधीश मध्ये वरिष्ठताका क्रममा स्थायी इजलास पाउन सक्ने न्यायाधीशको संख्या यकिन गरेर संयुक्त इजलास गठन कार्य सुरु गरिनेछ । संयुक्त इजलास गठन गर्दा न्यायाधीशहरुको वरिष्ठताको क्रमसंख्या जनाउने संख्या अंकित गोटी थैलीमा राखिनेछ । जोर गते भए स्थायी इजलास नपाउने न्यायाधीशको वरिष्ठता अंकित गोटी थैलीमा राखिनेछ र इजलास पाउने न्यायाधीशले गोटी तान्नेछन् । बिजोर गते भए स्थायी इजलास पाउने न्यायाधीशको वरिष्ठता अंकित गोटी थैलीमा राखिनेछ र स्थायी इजलास नपाउने न्यायाधीशले गोटी तान्नेछन् ।

यसरी गोटी तान्दा जुन संख्या अंकित गोटी पर्छ, ती न्यायाधीशको उनैसँग संयुक्त इजलास गठन हुनेछ । इजलास गठन भइसकेपछि इजलासका एक न्यायाधीशले सुनुवाइ गरिने मुद्दाको समूहको गोला तान्नु पर्नेछ । मुद्दा संख्या जति छन्, त्यति नै गोटी राखिनेछ । गोला तान्दा जुन गोटी आउँछ त्यो इजलासले सोही समूहको मुद्दाको सुनुवाइ गर्नेछन् । इजलासभन्दा मुद्दाको समूह धेरै भएमा बाँकी रहेका मुद्दाको पेसी स्थिगित हुनेछ । इजलास कक्ष न्यायाधीशहरुको वरिष्ठता क्रमअनुसार निर्धारण हुनेछ ।

तर, कुनै मुद्दा हेर्दाहेर्दैमा रहेमा हेर्दाहेर्दैको इजलासमा भएका न्यायाधीशहरु संयुक्त वा बृहत् जे हो, अर्को दिन पनि स्वतः गठन भएको मानिने छ । अर्को दिनको इजलास गठन गर्दा उनीहरुबाहेकले मात्रै गोला तान्नेछन् । निर्णय सुनाउने पेसी तोकिएको दिन इजलास गठन गर्दा सम्बन्धित न्यायाधीश फरक फरक इजलासमा परे पनि निर्णय सुनाउने मुद्दाको लागि मात्रै उनीहरु एउटै इजलासमा रहनेछन् । दैनिक रुपमा भैपरी आउने मुद्दा तथा निवेदनहरु समूहको क वा अ जुन इजलासले तान्छ, त्यही इजलासले र उक्त इजलास स्थगित हुने भएमा ख वा आ समूहको मुद्दा तान्ने इजलासले सुनुवाइ गर्ने कार्यविधिमा उल्लेख छ । दैनीक पेसी सूची बिहान साढे १० बजेभित्र वेबसाइटमा प्रकाशित हुनेछ ।

प्रतिक्रिया