मञ्चको संयोजकमा आचार्य

काठमाडौं । ‘भूटान गजल मञ्च’ तदर्थ समितिको संयोजक नेत्रप्रसाद आचार्यलाई चुनिएको छ । भूटानी नेपाली साहित्यमा गजलको एउटा लामो इतिहास बोकेको संस्थाको रुपमा रहेको मञ्च केही वर्षदेखि निस्क्रिय रहेको थियो । भूटानी नेपाली साहित्यमा कलम चलाइरहेका स्रष्टा मिलेर विश्व भूटानी साहित्यिक संगठनद्वारा ओमाहा नेब्रास्कामा आयोजित दुई दिवसीय ‘विभूसास साहित्यिक संगोष्ठी–२०२१ मा ‘भूटान गजल मञ्च’ को नयाँ तदर्थ कार्यसमितिको गठन गरिएको हो । २१ नोभेम्बर २०२१ का दिन बसेको बैठकले आचार्यको संयोजकत्व र पूर्ण नर्जालीको सहसंयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

बैठकमा साहित्य परिषद् भूटानका अध्यक्ष गंगाराम लामिटारे, विश्व भूटानी साहित्यिक संगठनका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, विश्व भूटानी साहित्यिक संगठनका वर्तमान अध्यक्ष कर्ण गुरूङ, साहित्यकार तथा भाषाविद् डा. टंक न्यौपाने, भूटान गजल मञ्चका संस्थापक सदस्यहरु अर्जुन रसाइली, जय वान्तवा, पूर्ण नर्जाली लगायतको उपस्थिति रहेको थियो । बैठकले मञ्चलाई पुनर्जागरण गराउनका निम्ति समितिको संयोजक आचार्य (नेत्राचार्य कौडिण्य) सहसंयोजकमा नर्जालीलाई चुनेको हो । त्यस्तै, सदस्यमा अर्जुन रसाइली, जय वान्तवा, पातलो अन्तरे, धर्मेन्द्र तिम्सिना ‘क्षितिज’, ‘दियालो’ सुसन माझी, राज बराल, भिम गुरुङ, शेखर कोइराला ‘चन्द्र’ र आरबी खड्का रहेका छन् ।
मञ्चले नेपाली गजल उत्थानका लागि डटेर काम गर्ने अठोट लिएको जनाएको छ । मञ्चले विज्ञप्तिमार्फत ‘भूटान गजल मञ्च’ को तदर्थ समिति गठन जनाएको छ । साथै, निकट भविष्यमा एउटा बृहत कार्यक्रम गरेर मञ्चको निर्वाचन गरिने जानकारी गराएको छ ।

प्रतिक्रिया