प्रदेश २ गण्डकीसँग स्तब्ध

काठमाडौं । काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश नम्बर २ लाई ५५ रनले पराजित गरेको छ । गण्डकीले दोस्रो जित निकाल्नेक्रममा उपाधिको दाबेदार प्रदेश २ लाई स्तब्ध पारेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकी ४३.४ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । गण्डकीका युवा ब्याटर अर्जुन कुमालले ८८ बलमा ७ चौकासहित सर्वाधिक ४७ रन बनाए । सन्देश सुनारले मध्यक्रममा ६२ बल खेल्दै ४ चौकासहित २६ रन जोडे । प्रशान्त सिंह १०, सचिनराज अधिकारी र कमल परियारले १४–१४ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश २ का कप्तान विवेक यादवले ९ ओभरमा २ मेडन सहित २० रन खर्चेर ५ विकेट लिए । गुलशन झाले ७.४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अजय यादव र प्रदीप पासवनाले १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको प्रदेश २ खराब ब्याटिङका साथ २२.५ ओभरमा १ सय १ रनमा अल आउट भयो ।

प्रदेश २ का तृतराज दासले ४१ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३१ रन बनाए । रोहन विके २४ बलमा ३ चौका र १ छक्का सहित २३, सन्तोष कार्की ४, विवेक यादव १० र आदिल अन्सारीले १९ रन बनाए । गण्डकीलाई जित दिलाउन कमल परियारले ५.५ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । सुवास भण्डारीले ९ ओभरमा ३ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए । किरण पौडेलको नाममा २ विकेट रह्यो ।

गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ९ विकेट र बागमतीसँग ७५ रनसँग पराजित भएको थियो । कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो । गण्डकीले आफ्नो पाँचौं खेल मंगलबार टियुमा सुदूरपश्चिमसँग खेल्नेछ । प्रदेश २ ले पहिलो खेलमा सुदूरपश्चिमसँग २ विकेटले पराजित भएको थियो । प्रदेश १ सँग ७ विकेटले पराजित हुँदा बागमती प्रदेशलाई ६ विकेटले हराएको थियो । प्रदेश २ ले बुधबार लुम्बिनी प्रदेशसँग खेल्नेछ । प्रदेश २ लाई शीर्षदुईमा रहँदै फाइनल खेल्न बाँकी दुबै खेलमा जित निकालेर मात्र पुग्दैन । प्रदेश १ र लुम्बिनी प्रदेशको नतिजाले पनि प्रभाव पार्नेछ ।

प्रतिक्रिया