सभापतिमा निर्वाचित खड्काद्वारा पार्टीलाई एक करोड दिने घोषणा

इलाम । नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बरबहादुर खड्काले पार्टी कार्यालय भवन निर्माणका लागि पार्टीलाई एक करोड बराबरको सहयोग घोषणा गरेका छन् । नवनिर्वाचित खड्काले मतदातालाई धन्यवाद दिन आयोजित पत्रकार भेटघाटका क्रममा पार्टीको जिल्ला कार्यालय भवन निर्माणका लागि सो घोषणा गरेका हुन् । खड्काले आफ्ना स्वर्गीय बाबु धनबहादुर खड्का र आमा मनमाया खड्काको स्मृतिमा पार्टी कार्यालय बनाउन सो सहयोग दिने घोषणा गरेका हुन् ।

यस्तै पार्टी कार्यालय भवन निर्माणकै लागि प्रतिनिधिसभा सदस्य सुजाता परियारले ५ लाख रुपैयाँ दिने घोषणा गरेकी छन् । इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले पनि २ लाख दिने घोषणा गरेका छन् । पार्टी सभापतिको शपथ लिनसाथ खड्काको पहलमा पार्टी कायर्नलय भवन बनाउन सहयोग रकम संकलन हुन लागेको हो । समाजसेवा गरेर इलामेली जनताको मनमा बस्न सफल भएका खड्का अब राजनीतिमा पनि सबैको मनमा बस्ने अभियानमा अघि बढेका छन । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा निकट खड्काले १४ औं जिल्ला महाधिवेशनमा संस्थापनइतरका उम्मेद्वार भेषराज आचार्यलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

को हुन् खड्का ?
इलाम नगरपालिका ७ इलाम बजारमा २०३१ सालमा सामान्य परिवारमा जन्मिएका खड्काको बाल्यकाल दुखमा बित्यो । सानैदेखि राजनीतिमा रुची भएका खड्काले २०४१ सालमा आदर्श माविमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । २०५१ सालमा नेवि संघको जिल्ला सभापति बन्दै २७ वर्षसम्म लगातार हारेको महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलामको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन दुई पटकसम्म विजयी गराएर इतिहास बनाए । २०६३ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष बनेका खड्का वल्र्ड युथ फेस्टीबलमा समेत सहभागी भएर इलामको नाम राख्न सफल बने ।

पछिल्लो समय विश्वभर फैलिरहेको कोभिड माहामारीमा पनि गरिब दुःखीहरुको उपचारका लागि एवम् दुःखसुख, आपत–विपत, गरिब–दिनखुःखी, अशक्त, अन्यायमा परेका इलामबासीहरुको साथमै रहेर काम गरिरहेकोले जिल्लामा समाजसेवी नेताका रुपमा परिचित छन् ।
१२ औं महाधिवेशनमा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षमा निर्वाचित खड्का १३ औं महाधिवेशनमा भने जिल्ला सभापतिमा पराजित भएका थिए । कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर राजनीतिक एवम् सामाजिक काममा तल्लिन खड्का १४ औं महाधिवेनमा सभापतिमा निर्वाचित बने । प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका थिए । खड्काले ९ सय ३५ मत प्राप्त गर्दा आचार्यले ७ सय ७५ मत मात्र प्राप्त गरेका थिए । समाजसेवा गरेर इलामेली जनताको मनमा बस्न सफल खड्का अब राष्ट्रिय राजनीतिमा पनि सबैको मनमा बस्ने अभियानमा अघि बढेका छन् ।

प्रतिक्रिया