अल्पविरामले ल्याए ‘अनुभूतिका रंगहरू’

कास्की । साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रंगहरू’ लघुकथा संग्रह सार्वजनिक भएको छ । उक्त कृतिको नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले एक कार्यक्रमकाबीच विमोचन गरे । उनले आख्यानको एक महत्वपूर्ण विधाका रूपमा लघुकथा स्थापित भएको बताउँदै मुुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेको जिकिर गरे । उनले भने, ‘उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहनुभएको छ ।’

साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताउँदै लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको बताए । कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारको लघुकथा पढ्दापढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाए । उनले समाजमा देखेभोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेको बताए ।

अल्पविरामका यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्÷ईश्वर छैनन् गरी दुई कविता संग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी दुईवटा मुक्तक संग्रह प्रकाशित छन् । साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताए । उनले लघुकथामा सामाजिक चेत र राजनीतिक विकृतिलतई कलात्मक रुपमा उधिनिएको विचार व्यक्त गरे । लघुकथा समाज, प्रदेश १ की अध्यक्ष ममता मृदुल, लघुकथा प्रतिष्ठान पोखराका संस्थाका सचिव कल्याण पन्त, सदस्य रुपिन्द्र प्रभावी, सदस्य विष्णु बाँस्तोला लगायतले लघुकथाको साहित्यिक महत्वका विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया