कांग्रेस महाधिवेशन : जिल्लागत परिणाममा देउवा नै अघि

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । गत शुक्रबार सुरु भएका जिल्ला अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । देशका आधाभन्दा धेरै जिल्लाको परिणाम आउँदा वरिष्ठ नेता रामचन्द्र पौडेलभन्दा सभापति शेरबहादुर देउवा नै अघि देखिएका छन् । कृष्ण सिटौलाको तेस्रो धारले पनि एक जिल्लामा सभापति जित्न सफल भएको छ ।

४५ जिल्लाको परिणाममा देउवा पक्ष केही बलियो देखिएको हो । देउवा समूहका २२ जना जिल्ला सभापति निर्वाचित भएका छन् । पौडेल समूहका २० जनाले सभापति जितेका छन् । यस्तै सिटौला पक्षका एकजनाले चुनाव जित्दा २ जना भने कतै खुलेका छैनन् ।
काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी भएका छन् । उनले प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय अधिवेशनमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा क्षेत्र नं १ मा बस्नेत र क्षेत्र नम्बर २ मा तामाङ निर्वाचित भएका हुन् । बस्नेतले निकटतम प्रतिस्पर्धी तीर्थ लामालाई तामाङले कृष्णबहादुर तामाङलाई पराजित गरेका थिए ।

कांग्रेस दाङको सभापति चयनका लागि फेरि मतदान हुने भएको छ । शनिबार भएको मतदानमा सभापतिका उम्मेदवार चार जनामध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनःमतदान हुन लागेको नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिका प्रवक्ता युवराज बस्नेतले जानकारी दिए । विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत लिनुपर्ने प्रावधान रहेकामा कसैले पनि ५१ प्रतिशत मत नआएकाले चार उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका शंकर डाँगी र भूपबहादुर डाँगीबीच फेरि प्रतिष्प्रर्धा हुने भएको हो ।
इलाम जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का विजयी बनेका छन् । अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिले प्राप्त गर्नुभएको मत पुनःगणना गर्दासमेत बराबरी आएको छ । गत मंगलबार सम्पन्न भएको मतदानमा क्षेत्रीय सभापतिका प्रत्यासी जगत कार्की र सूर्य गुरुङले समान ३९४ मत प्राप्त गरेपछि शनिबार पुनःमतगणना गरिएको थियो । शनिबार गरिएको पुनःमतगणनामा पनि दुवै उम्मेदवारको मत बराबरी आएको नेपाली कांग्रेसका सहायक निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जानकारी दिए । उम्मेदवारको मत बराबर आएको अवस्थामा गोलाप्रथाबाट विजयी उम्मेदवारको छिनोफानो गर्नुपर्ने विधान रहे पनि विरोध र असन्तुष्टिपछि उम्मेदवारको आग्रहमा शनिबार पुनः मतगणना भएको उहाँले बताउनुभयो । पुनःमतगणनामा पनि मत बराबर आएपछि अब भने गोलाप्रथाबाटै क्षेत्रीय सभापतिको टुङ्गो लगाउने गरी प्रक्रिया अगाडि बढाइने सहायक निर्वाचन अधिकृत कँडेलले जानकारी दिए ।

क्षेत्र नं २ को सभापतिमा टुङ्गो नलागेपछि जिल्लाको अधिवेशन नै पर धकेलिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जिल्ला अधिवेशन भने यही मंसिर १९ र २० गते हुने गरी तयारी थालिएको उनको भनाइ थियो । बागलुङको सभापतिमा पुनःमतदान सुरु भएको छ । पहिलो चरणमा शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारको स्पष्ट बहुमत नआएकाले आइतबार पुनः मतदान गर्नुपरेकोे निर्वाचन समितिले जनाएको छ । सभापतिको पुनःमत गणनापछि मात्रै एकैसाथ मतगणना गर्ने निर्वाचन अधिकृत शर्माको भनाइ थियो । पुनःनिर्वाचनका लागि सूचना गरिएको भन्दै दुवै उम्मेदवारसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया