माओवादी केन्द्रलाई कमजोर हुने छुट छैन् : दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई कमजोर हुने छुट नभएको बताएका छन् । देशव्यापी एकैसाथ भइरहेको माओवादी केन्द्रको नगरस्तरीय अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने बताएका हुन् ।

कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामी कस्तो अवस्थामा आइपुगेका छौँ भने हाम्रो पार्टी कमजोर भयो भने हामी मात्र कमजोर हुने अवस्थामा छैनौँ । विगतमा एउटा पार्टी कमजोर हुँदा अर्को पार्टी बलियो हुने अवस्था थियो । तर आज यस्तो अवस्था छ कि माओवादी केन्द्र कमजोर भयो भने देशको परिवर्तनका एजेण्डा कमजोर हुन्छन् ।’

अध्यक्ष प्रचण्डले अगाडि भने– ‘परिवर्तनका एजेण्डा कमजोर भए राष्ट्रिय एकता कमजोर हुन्छ । राष्ट्रिय एकता कमजोर भयो भने देश दुर्घटनामा पर्छ । देशलाई दुर्घटनाबाट बचाउने, परिवर्तनहरुलाई निरन्तर अगाडि बढाउने दायित्व अहिले माओवादी केन्द्रको काँधमा आएको छ । त्यसकारण हामीलाई निस्क्रिय हुने छुट छैन । हामीलाई हाम्रा एजेन्डाप्रति शिथिल हुने छुट पनि छैन । हाम्रो जे क्रान्तिकारी बिरासत छ, त्यसको रक्षाका लागि अझ ठूलो मिहिनेत, अझ ठूलो दृढताका साथ अगाडि बढ्न आवश्यकता छ ।’

उनले हिजो माओवादीले रगत पसिना बगाएर ल्याएको परिवर्तनबारे बोल्न पनि हिचकिचाहट जस्तो देखिएको भन्दै सबै परिवर्तन माओवादीको आन्दोलनबाटै सम्भव भएको र त्यसको स्वामित्व (अपनत्व) माओवादीले लिनैपर्ने उल्लेख गरे । उनले शान्ति प्रक्रियामा आएपछि माओवादीले विचार संश्लेषण, विचार परिमार्जनको कुरामा कम ध्यान दिएको बताउँदै तात्कालीन राजनीतिक घटनाक्रम, विभिन्न पक्षसँग जोड घटाउ गर्ने, समीकरण भत्काउनेतिर बढी ध्यान दिँदा पार्टी कमजोर भएको बताए ।

उनले भने, ‘पाटीको विचार निर्माणमा हाम्रो कम ध्यान गयो । हाम्रो यहाँ कहीँ न कहीँ त्रुटी भयो । हामीले केन्द्रीय समितिमा आत्मालोचना गरेको विषय पनि हो यो । तत्कालको राजनीतिक जोड घटाउमा मात्र लाग्दा पार्टी वैचारिक रुपमा स्खलित हुने अवस्था देख्यौँ हामीले । बिस्तारै पार्टी शिथिल हुँदै जाने र पार्टीको क्रान्तिकारी चरित्र ह्रास हुँदै जाने खतरा देखियो र हाम्रा पार्टीका कार्यकर्ताहरु पनि अरु पार्टीका बुर्जुवा संशोधनवादी प्रतिक्रान्तिकारी जस्तै व्यक्तिगत हित पदीय स्वार्थ र गुट स्वार्थतिर जाने देखियो । त्यस्तो भयो भने यो पार्टीले ऐतिहासिक अभिभारा पूरा गर्न सक्दैन । त्यसकारण बेलैमा हामीले हाम्रो कमी कमजोरीहरु सच्याउनतिर लाग्नुपर्दछ ।’

प्रतिक्रिया