प्रदेश १ को लगातार तेस्रो जित

काठमाडौं । ओपनर सोनु अन्सारीको शतकमा प्रदेश १ ले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रदेश १ ले प्रदेश २ लाई ७ विकेटले हराउँदै शीर्ष स्थान कायमै राखेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा अल आउट भएको थियो । प्रदेश २ का कप्तान विवेक यादवको ७१ बलमा ४ चौका र ६ छक्का ७० रनको उत्कृष्ट इनिङ्सका बाबजुद भयो । ओपनर रोहन विकले ५९ बलमा ६ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । सन्तोष कार्की ११, तृतराज दास ८, आशिष झा ५ र गुलशन झा १ रनमा आउट भए ।

अमित यादव ११, आदिल अन्सारी १३, साम्सद मानसुरीले १६ रन बनाए । ६० बल खेलेका प्रदीप पासवानले १ चौका सहित १० रन बनाए । प्रदेश नम्बर १ का दीपेश कडेलले १० ओभरमा २ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर गौरव कटवालले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । दीपक जोशीले २ र अभिनय राजवंशीले १ विकेट लिए ।

जवाफमा प्रदेश नम्बर १ ले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश १ को जितमा ओपनर सोनु अन्सारीले १ सय ४५ बलमा १४ चौका र ३ छक्का सहित १ सय १९ रनको अविजित इनिङ्स खेले । सोनुले साम्सद मानसुरीलाई ४० औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । सोनु सुदूरपश्चिम प्रदेशका अर्जुन साउदपछि शतक प्रहार गर्ने यस प्रतियोगिता दोस्रो खेलाडी हुन् । उनले १ सय २३ बलमा शतक पूरा गरेका थिए ।

दीपेश कंडेलले ५३ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । विवेक मेहता २९ रनमा ४ चौका २९ रनमा अविजित रहे । ओपनर अंकित सुवेदी १४ र लव कामत ९ रनमा आउट भए । प्रदेश २ का विवेक यादव, प्रदीप पासवान र तृतराज दासले १–१ विकेट लिए । प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई २६ रन र दोस्रो खेलमा कर्णालीलाई ७६ रनले हराएको थियो । प्रदेश २ ले पहिलो खेलमा सुदूरपशिमचलाई २ विकेटले हराएको थियो । प्रदेश १ ले मंसिर १३ मा लुम्बिनी प्रदेशसँग खेल्नेछ । प्रदेश २ ले मंसिर १२ मा बागमतीसँग खेल्नेछ ।

प्रतिक्रिया