सातदोबाटोसँग थ्री स्टार स्तब्ध

काठमाडौं । उपाधि दावेदार रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा थ्री स्टार सातदोबाटोसँग १–० ले स्तब्ध बनेको हो । थ्री स्टारलाई स्तब्ध पार्न सातदोबाटोका सुदिप गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । अजायी मार्टिन्सले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुदा थ्री स्टारका गोलरक्षक प्रिसोले रोक्ने कुनै मौका नै पाएन ।

३६औं मिनेटमा सातदोबाटोका निरज चौधरीले सुशिल राईको पासमा सुवर्ण अवर पाएपनि सदुपयोग गर्न नसक्दा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो । ३७औं मिनेटमा थ्री स्टारका ऋतिक कुमार खड्काले झन्डै २५ यार्डबाट गरेको सशक्त प्रहार सातदोबाटोका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट पञ्च गर्दै बचाउँदा थ्री स्टार बराबरीबाट चुक्यो ।

दोस्रो हाफमा दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि दुवै टोलीले गोल गर्न सकेनन् । सातदोबाटोले शीर्ष डिभिजनमा दोस्रो खेलमा पहिलो जित निकालेको हो । जितसँगै अपराजित सातदोबाटोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो हार बेहोरको थ्री स्टारको ३ अंक छ । सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया