‘कठपुतली’ पुस १५ मा

काठमाडौं । भीमसेन लामाको निर्देशनमा बनेको चलचित्र ‘कठपुतली’ पुस १५ बाट प्रदर्शनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्ष र तमु ल्होसारको अवसर पारेर प्रदर्शनमा आउने लागेको यो चलचित्रको लेखन सम्पदा मल्लको रहेको छ । ‘कठपुतली’ मा अभिनेत्री गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ । यस चलचित्रले विदेशका महोत्सवमा प्रदर्शन भई अवार्डसमेत हात पर्न सफल भएको छ । चलचित्रले हालै अमेरिकाको ‘विन्टर चलचित्र अवार्ड’ मा दुईवटा अवार्ड प्राप्त गरेको छ ।

पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टुडियोमा भएको यो चलचित्रमा पृथ्वी राना मगर निर्माता रहेका छन् । यस्तै, चलचित्रको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर चलचित्रभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरे । उनले यो चलचित्रलाई आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए । चलचित्रका सिनेमाटोग्राफर जोएल फ्रुमले अस्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर चलचित्रअन्तर्गत ‘बेस्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन् ।

प्रतिक्रिया