कोभिड महामारीको कारण महिलाविरुद्ध हिंसा बढ्यो : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले हालै गरेको एक अध्ययनमा कोभिड १९ को महामारीका कारण महिला हिंसामा बृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस महामारीका कारण महिला हिंसाका घटनामा पनि बृद्धि भएको पाइएको हो ।

विश्वका अरु देशमा पनि यो महामारीका कारण आफ्ना घरमै र बाहिर अर्थात् सार्वजनिक स्थलमा पनि यस्ता घटनामा बृद्धि भएको पाइएको सो उक्त अध्ययनमा देखिएको बताइएको छ ।

ती १३ देशमा गरेको सर्वेक्षणबाट महिलाहरुले महामारीका कारण घरमै बस्नुपर्दा तथा सार्वजनिक स्थानमा समेत आफूहरुमाथि हिंसा बढेको पाइएको उनीहरुले बताएका थिए । घरेलु हिंसा घरभित्र हुने गरेको र कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिएको भएपनि वास्तविकता त्यस्तो नरहेको ती महिलाले जनाएका छन् ।

यो महामारीका कारण विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको थियो र बासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको थियो । तर पनि घरमा बस्नुपर्दाको अवस्थामा पनि महिलामाथिको हिंसा झनै बढ्ने गरेको सो अनुसन्धानबाट पाइएको हो ।सो सर्वेक्षणमा समेटिएका महिलाहरुमध्ये करिब आधाजतिले सार्वजनिक स्थान र घरमा पनि कुनै न कुनै प्रकारको हिंसाको महसुस गरेको बताएका थिए ।

त्यसैगरी एक चौथाई महिलाले त आफूहरु घरमै असुरक्षित रहेको बताएका थिए । उनीहरुले महामारी सुरु भएयतादेखि आफूहरुलाई घरमै हिंसा बढेको अनुभव सो अनुसन्धानका क्रममा सुनाएका थिए । उक्त अनुसन्धानले यो महामारीका समयमा भएका घरेलु हिंसाको यथोचित मात्रामा वास्तविकता बाहिर आउन नसकेको पनि देखाएको छ ।

यसै पनि घरेलु हिंसाका घटना अत्यन्त कममात्रै जानकारीमा आउने गरेको र अहिले झन् यो महामारीपछि त्यसमाथि सबैलाई घरभित्रै बस्नु भनेको समयमा यसको रिपोर्टिङ पनि अत्यन्त न्यून हुने गरेको उक्त अनुसन्धान रिपोर्टमा जनाइएको छ ।

प्रतिक्रिया