‘लम्फू’ ट्रेन्डिङमा

काठमाडौं । गोपालचन्द्र लामिछाने निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘लम्फू’ सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको यो चलचित्र ट्रेन्डिङमा पर्न सफल भएको छ । केही दिनअघि सार्वजनिक चलचित्र समाचार तयार गर्दासम्म १३ लाख ३५ हजार बढी भ्युज पाएको थियो । युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको यो चलचित्रलाई युट्युवमा २५ हजारले लाइक र १५ सयले डिसलाइक गरेका छन् ।

तीन वर्षअघि प्रदर्शनमा आएको ‘लम्फू’ ले सिनेमा घरमा दर्शक पाउन नसकेर असफल भएको थियो । युट्युबमा सार्वजनिक यो चलचित्रले राम्रो दर्शक पाउँदै प्रशंसासमेत बटुल्न सफल भइरहेको छ । कलाकारको अभिनयसँगै चलचित्रको कथावस्तुको धेरैले चर्चा गरेका छन् भने कतिपयले ‘मन छुने’ चलचित्रसमेत भनेका छन् । चलचित्रमा अभिनेता कविर खड्का, अभिनेत्री मरिश्का पोखरेल, सलोन बस्नेत, अजित लामिछाने, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ, रश्मी भट्ट, पुष्प आचार्य, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, जानुका पौडेल, झलक कार्की, थमन सिंह पुर्जा लगायतका कलाकारको अभिनय छ । पपुलर मल्टिमिडियाको लागि शक्तिबल्भ घोरासैनीले निर्माण गरेको यस चलचित्रमा त्यतिबेला तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठसमेत अभिनय छ । एक युवाको जीवनमा आइपर्ने विभिन्न आरोह अवरोहको विषयलाई चलचित्रमा कलात्मक ढंगले उधिनिएको छ ।

प्रतिक्रिया