आइन्स्टाइनका पाण्डुलिपिको मूल्य १ करोड ३० लाख डलर

अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ । पेरिसस्थित क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान तोडेको छ । यसले पाण्डुलिपिको मूल्यमा अझ उचाइ थपेको छ । सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका उपलब्ध दुई मध्ये यो एउटा कागज हो । सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो । हिसाबकिताबको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्विस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए । यी कागजात पनि बेसोले नै राखेका थिए । क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोचको तारिफ गरेको छ ।

‘आइन्स्टाइनले त्यस्ता थिए जसले आफूले लेखेका थोरै मात्रै कागजात राखे, त्यसैले यो पाण्डुलिपि रह्यो भन्ने तथ्य मात्रै पनि हाम्रा लागि असाधारण हो,’ लिलामी घरका विज्ञ भिन्सेन्ट बेल्लोएले भने । पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ र बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिन्छ । लिलामी घर क्रिस्टिले यो बिक्रीले यी कागजातको महत्त्व बुझ्ने विश्वभरिका संग्रहकर्तालाई आकर्षित गरेको जनाएको छ । तर ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने बारेमा केही खुलाइएको छैन । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो । गत मे महिनामा आइन्स्टाइनको सबैभन्दा चर्चित  EÖmc²  इक्वेसनबारे उनले लेखिएको पत्र १२ लाख डलरमा अमेरिकामा बिक्री भएको थियो ।

प्रतिक्रिया