डिभीको ‘खुला व्यायामशाला’ अभियान

काठमाडौं । शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेसनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेस पार्क) सञ्चालनमा ल्याएको जनाएको छ । डिभी एजुकेसनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना महामारीमा विशेष गरि शारीरिक व्यायाम मार्फत युवामा थोरै भए पनि सकारात्मक सोच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला सञ्चालनमा ल्याएको जानकारी दिए ।

‘कोरोना महामारीले विश्व नै आक्रान्त थियो, त्यसको प्रभाव हाम्रो देशमा पनि थियो, महामारीकै कारण युवामा मानसिक समस्या समेत देखिन थालेको थियो, हामीलाई लाग्यो यस्तो अवस्थामा व्यायाम मार्फत युवालाई व्यस्त राख्न सकिन्छ’ शाहले भने, ‘जसले शारीरिक र मानसिक दुवै कुरामा राहत मिल्छ, यही सोचका साथ हामीले कोरोना महामारीकैबीचमा गत वर्षको नोभेम्बर महिनामा खुला शारीरिक व्यायामशाला सञ्चालन ग¥यौँ ।’

डिभी एजुकेसनले नेपाली यूथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) सँगको समन्वयमा काठमाडौँको टोखा, नक्साल, पोखरा, चितवन र विराटनगरमा पनि खुला शारीरिक व्यायामशाला सञ्चालनमा ल्याएको उनले बताए । उनले छिट्टै थप पाँच ठाउँमा सेवा विस्तार गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाली यूथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) का संस्थापक अध्यक्ष शुकदेव कार्कीले आफूहरूले सन् २०१९ मार्च देखि निःशुल्क व्यायाम प्रशिक्षण र व्यायामशाला सञ्चालनको अभियान अगाडि बढाउँदै आएकोमा डिभी एजुकेसनले सामाजिक उत्तरदायित्व पुरा गर्दै जोडिन आउँदा धेरै सहयोग पुगेको बताए ।

प्रतिक्रिया