मच्छिन्द्रको विजयी सुरुआत

काठमाडौं । फरवार्ड सुनिल बलको दुई गोल मद्दतमा अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नयाँ सिजनको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई २–१ ले परजित गर्दै विजयी सुरुआत गरेको हो । मच्छिन्द्रका एरिक विष्टले गोल गरेपनि हार टार्न सकेन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा सुनिल बलको गोलबाट मच्छिन्द्रले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो ।

विशाल राईको चलाखीपुर्ण पासमा सुनिलले अफसाइड बिट ट्याप गर्दै दोस्रो बार च्याप्दै गोल गर्न सफल भएको थियो । लगत्तै १३औं मिनेटमा विशाल राईले आन्द्र थिएरी विइक विइकबाट बल खोस्दै पेनाल्टी बक्सबाहिरबाट वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा मच्छिन्द्र अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२२औं मिनेटमा सुनिल बलको प्रहारलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । रिवाउन्डमा कप्तान सुजल श्रेष्ठको प्रहारलाई अफसाइड पोजिसनमा रहेका अभिषेक रिजालले टच गरिदिदा गोलले मान्यता पाएन । २६औं मिनेटमा स्टेफन विनोङको हेडर पासमा क्रिटिस रत्न छुन्जुको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एनआरटी बराबरीबाट चुक्यो ।

५२औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई शिव गुरुङले हेडर प्रयास गरेपनि भेट्न नसक्दा एनआरटी बराबरीबाट चुक्यो । ५४औं मिनेटमा एरिक विष्टले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । स्टेफन बिनोङलाई फउल गरेपछि झन्डै ३५ यार्ड टाढाको फ्रिकिकमा एरिकले दर्शनीय गोल गर्न सफल भएका थिए । ७४औं मिनेटमा मनिष डाँगीको पेनाल्टी बक्सबाहिरको प्रहारलाई गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाउँदा मच्छिन्द्रले अग्रता लिन सकेन ।

८०औं मिनेटमा सुनिल बलले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । सुनिलले कप्तान सुजल श्रेष्ठको क्रसमा कसैको निगरानीमा नरहेका सुनिलले सहजै फिनिस गरेका थिए । ८५औं मिनेटमा वैकल्पिक फरवार्ड विमल घर्ती मगरले मैदानको मध्यभागबाट एकल प्रयासमा बल अघि बढाएपनि पेनाल्टी बक्स पुग्दासम्म नियन्त्रणमा लिन नसक्दा गोलबाट चुक्यो । जितसँगै मच्छिन्द्रले ३ अंक जोडेको छ । परजित एनआरटी अंकविहीन बन्यो ।

प्रतिक्रिया