मत-विमत

नेपालको जातीय सवाल र पृथ्वीनारायण शाह

सौर्य अनलाइन २०७८ मंसिर ७ गते ७:३० मा प्रकाशित

डा. निर्मलणि अधिकारी

परिवर्तनका लागि समय त लागिहाल्छ । त्यो समयको पर्खाइले उनीहरूमा अधैर्यता आएको छ । त्यो अधैर्यतालाई ‘क्यास’ गर्न अनेकखालका शक्ति लागिपरेका छन्, जसले समस्या समाधान गर्नेतर्फ भन्दा पनि जातीय द्वेष, घृणा र सामाजिक समन्वय खल्बल्याएर आफ्नो तुच्छ राजनीतिक स्वार्थपूर्ति गर्न पानी धमिल्याइरहेका छन् । तिनै अनेकखालका शक्तिका कुत्सित स्वार्थवश गरिने क्रियाकलापले समस्यालाई झन् जटिल बनाएको छ ।

पृथ्वीनारायण शाहले यदि जनविश्वास आर्जन गर्न नसकेको भए आफ्नो पुख्र्यौली स्थललाई नभएर पछि जितिएको ठाउँमा राजधानी राख्ने थिएनन्, किनकि राजधानी असुरक्षित ठाउँमा राखिँदैन । उनले सबैथरीलाई उपयुक्त अवसर र स्थान दिएका थिए । तर पृथ्वीनारायण शाहका सन्दर्भमा कुरा गर्दा यो तथ्य पनि ख्याल राख्नुपर्दछ कि उनको जीवन एक योद्धाको जीवन भएको हुँदा सधैँ अनिश्चित र गतिशील रहेको थियो । उनको पूरै जिन्दगी युद्ध वा त्यसको तयारीका क्रममा भागदौडमा बितेको थियो र उनको देहावसान पनि भागदौडबाट उम्केर सुस्ताउन नभ्याइकनै भयो ।

नेपालको राष्ट्रिय एकीकरणरूपी महायज्ञ उनकै जीवनकालमा सम्पन्न भई, यदि उनलाई युद्धरत नरही स्वाभाविक तवरले शासनरत रहने समय मिलेको भए हाम्रो मुलुकले थुप्रै क्षेत्रमा सुधार तथा विकासको अवसर पाउने थियो भन्ने कुरा स्पष्ट छ । यो देशको दुर्भाग्य हो कि उनको त्यति छिट्टै देहावसान भयो र उनले राज्यको ‘थिति’ बसाउन समय पाएनन् । यस दुर्भाग्यको दीर्घकालीन असर परेको छ ।

पृथ्वीनारायणको देहावसान पश्चात् नेपाली समाज नायकहीनताको स्थितिमा पुगेको हुँदा भुरे–टाकुरे भारदारी गुटका आधारमा सत्ताको खेल खेल्न थालेको देखिन्छ । जब देशमा भारदारी षड्यन्त्रका आधारमा शासन चल्न थाल्यो, तब सारा राज्य संयन्त्र गडबडायो । गुटका आधारमा कसैले स्थान र अवसर पाउने, अनि कसैले नपाउने हुन थाल्यो । त्यो गुटीय हानथापका बेलामा जातीय आधारमा भन्दा पनि गुटीय आधारमा पुरस्कृत वा दण्डित गरिने हुँदा थुप्रैले अनेक किसिमका उतारचढाव भोग्नुपरेको इतिहासमा उल्लिखित छ । यसबाट क्रमशः देश झन् झन् अव्यवस्थित हुँदैगयो । जसको चरम परिणति राणाको जहानियाँ शासनका रूपमा भयो । राणाशासन कालअघि नै देशभित्र भन्दा देश बाहिर जीविका खोज्न जाने प्रचलन सुरु भइसकेकै थियो, त्यो क्रम राणाकालमा अझ बढ्यो ।

त्यसबेला कतिपय जातीय समुदाय जस्तैः राई, लिम्बु, मगर, गुरुङ आदिलाई ब्रिटिस सेनामा जान प्रोत्साहित गर्ने परिस्थिति सृजित भयो र त्यहाँ कमाइ पनि आकर्षण्क भएकाले उनीहरू त्यतातिर लागे । यसको चरम परिणति के भयो भने कालान्तरमा अहिले ‘जनजाति’ भनेर चिनाइने जातिका पुरुष वर्गको लक्ष्य भनेकै लाहुरे बन्नुमा केन्द्रित हुनपुग्यो । आज यतिको शिक्षाको प्रचार प्रसार हुँदाको स्थितिमा त लाहुरेको ‘क्रेज’ कायमै छ भने उतिबेला कस्तो हुँदो हो ? अनुमान गर्न सकिन्छ । यसकारणले गर्दा उनीहरूले पढ्नेतिर र देशभित्रका प्रशासनिक पदका लागि भन्दा पनि बढी जोड आफूलाई लाहुरे बनाउने तर्फदिने र त्यसकै लागि तयारी गर्ने गर्नथाले । शैक्षिक क्षेत्रलाई बेवास्ता गर्नाले शैक्षणिक संस्थान तथा प्रशासनिक क्षेत्रमा उनीहरूको भागिदारी नहुने जस्तो परिस्थिति आयो । जबकि विदेशमा बल, वीरता, शौर्यबाट उनीहरूले ठूलो इज्जत कमाए । विश्वमा ‘गोर्खा’ हरूको रवाफ तिनै वीरहरूको देन हो ।

यता नेवार समुदायका व्यक्तिहरू व्यापार–व्यवसायमा प्रतिस्पर्धा गर्नकै निम्ति भए पनि नयाँ शिक्षा तथा प्राविधिको सिकाइमा लागे । त्यसैले मारवाडी आउनुअघि नेपालका सर्वाधिक धनी व्यक्तिहरू नेवार नै थिए र अहिले पनि मानव विकास प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा उच्च मानव विकास स्तर नेवार समुदायको नै छ । क्षेत्रीहरूले आफूलाई स्वतः शासक जाति ठान्ने गरेकाले होला त्यतिखेर पढाइमा खासै जोड नदिएको देखिन्छ । तर ब्राहृमणको लागि त पढ्नुबाहेक अरू विकल्प नै थिएन । तत्कालीन सामाजिक मान्यता अनुसार ऊ न व्यापार गर्न सक्थ्यो, न त पैसा कमाउन लाहुरे हुन नै सक्थ्यो । अरू त अरू, आफ्नो हलो आफैँले जोत्नेसमेत स्वीकृति थिएन उसलाई । आर्थिक हिसाबबाट हेर्दा अधिकांश ब्राहृमणहरूको स्थिति कमजोर रहेको थियो । अनि के गरोस् त, पढ्नु मात्रै उसँग भएको एक मात्र विकल्प थियो । केही पढ्यो–लेख्यो भने मात्र उसको मानभाउ हुन्थ्यो, नत्र त उसले जति कष्ट कसैले पाउँदैनथ्यो । यसरी बाध्यात्मक तवरबाटै पनि ब्राहृमणहरू शिक्षाको क्षेत्रमा दत्तचित्त रहे । अहिलेको परिस्थिति हेरेर कहाँ हुन्छ र ! त्यतिखेर त ‘पढे लेख्यो कौने काम, हलो जोत्यो खायो माम’ भन्ने चलन थियो नि त ! कुनैबेला सबैभन्दा अनुत्पादक मानिएको शिक्षाक्षेत्रमा निरन्तर लागिरहेको फलस्वरूप पछि गएर ऊ अगाडि पर्यो ।

भयो के भने विश्व आधुनिकीकरणतर्फ बढ्दै जाँदा त्यसको असर नेपालमा पनि प¥यो । विश्व समुदायसँग सम्पर्क गर्न, अनि युगअनुकूल राज्य सञ्चालन गर्न त शिक्षित व्यक्ति नै चाहियो । बदलिँदो परिस्थितिले गर्दा अघि निचोरिएको ब्राहृमण अहिले स्वतः अगाडि प¥यो । यति अगाडि कि शासक जातिका रूपमा रहि आएको क्षत्रीय र आर्थिक क्षेत्रमा एकलौटीजस्तै अधिकार जमाएका नेवारहरूभन्दा पनि अगाडि आयो ब्राहृमण । क्षेत्रीचाहिँ नेवारभन्दा पनि पछाडि धकेलियो । हुन त अहिले ब्राहृमण–क्षेत्रीलाई एकमुष्ट गाली गर्ने गरिन्छ, जसले गर्दा क्षेत्रीहरूको यथार्थ स्थिति जनसमक्ष आएको छैन । नेपालको प्रशासनमा जनसंख्याको आधारमा क्षेत्रीले जति भाग पाउनुपर्ने हो, त्योभन्दा कम नै पाएको छ । तर ब्राहृमण र नेवारहरूले सर्वाधिक स्थान ओगटेका छन् । त्यो किन त ? त्यो जातीय पक्षपातका कारणले कदापि होइन । हिजो ब्राहृमणले चाहिँ अरू विकल्प नपाएर र नेवारले चाहिँ व्यावसायिक गुणवत्ताको निमित्त शिक्षा क्षेत्रमा बढीभन्दा बढी परिश्रम गर्नुको फल हो यो त ।

खासगरी २००७ सालपछिका वर्षरूमा देशको राजनीति तथा प्रशासनमा शिक्षित–प्रशिक्षित व्यक्तिहरूको माग बढ्दै गयो र सोहीअनुरूप ब्राहृमण र नेवारहरूको भागमा (उनीहरू शिक्षित–प्रशिक्षित भएकाले स्वतः) बढी भाग पर्दै गयो । क्षेत्रीहरू पनि पहिलेदेखि नै शासनमा रहेको हुँदा उच्च तहमा उनको प्रतिनिधित्व कायम रहने नै भयो । शिक्षाको महत्व बुझेर नेवार तथा क्षेत्रीले त्यसमा अरू जोड दिएपछि ब्राह्मणको भाग घटेर नेवार र क्षेत्रीको भाग बढेको देखिन्छ । उदाहरणार्थ, वि.सं. २०३५–२०३६ मा लोकसेवा आयोगको शाखा अधिकृत र लेखा अधिकृत पदको परीक्षामा उत्तीर्ण भएका मध्ये ६४ प्रतिशत ब्राह्मण, १९ प्रतिशत नेवार र १० प्रतिशत क्षेत्री भएकोमा वि.सं. २०४५–२०४६ माचाहिँ अधिकृत पदमा ४८ प्रतिशत ब्राह्मण, २६ प्रतिशत नेवार र १५ प्रतिशत क्षेत्रीले ठाउँ ओगटेका रहेछन् । यसले यही प्रमाणित हुन्छ कि कुनै जाति वा समुदायमा कति शिक्षित सक्षम जन छन् उति नै अनुपातमा भाग मिलेको रहेछ ।

कतिपय जातिवादीहरूले पञ्चायती व्यवस्थालाई गाली गर्ने क्रममा उक्त व्यवस्था ‘खस जातीय एकाधिकारवादी’ अथवा ‘बाहुनवादी राज्यसत्ता’ भनेर भन्ने गरेको अवस्थामा ब्राहृमणहरूको भागिदारी घट्दो क्रममा रहेकोबाट के स्पष्ट हुन्छ भने त्यतिखेर जातीय आधारमा कुनै भेदभाव थिएन । अनि, प्रजातान्त्रिक भनिने र खुल्ला प्रतिस्पर्धा हुने बहुदलीय व्यवस्थामा खुल्ला प्रतिस्पर्धा गर्नुपर्दा ब्राहृमणहरूले आफूलाई सक्षम साबित गरिरहेको यथार्थता देख्दा राज्यसत्ता वा प्रशासनिक क्षेत्रमा उनीहरूले पाएको अत्यधिक भागिदारी जातीय आधारमा होइन कि योग्यताको आधारमा हो भन्ने प्रमाणित हुन्छ । त्यसो हुँदा समस्याको जड जातीय आधारमा होइन कि अन्य आधारमा (खासगरी शैक्षिक गुणवत्तामा) छ भन्ने त आँकडाले नै प्रमाणित गरिरहेको छ ।

शिक्षा नै अवसरको प्रमुख कारक तत्व हो भन्ने प्रमाणित गर्ने अर्को तथ्य पनि छ । वि.सं. २००७ सालको आसपासमा काठमाडौंमा रहेका चिकित्सक तथा प्राध्यापकहरूमध्ये अधिकांशतः बंगाली रहेकोमा अहिले जताततै प्रायः नेपालीहरू नै रहेको स्थितिलाई विचार गर्ने होभने कुरो आफसेआफ छर्लिंन्छ । राई, लिम्बु, मगर, गुरुङ आदि (जनजाति पनि भन्ने गरिन्छ अचेल) को सन्दर्भमा कुरा गर्दा जतिखेर नेपाल आधुनिकीकरण तर्फअघि बढ्दो थियो त्यतिखेर यिनीहरूसँग मिहिनेतले कमाएको पैसा त थियो, भिक्टोरिया क्रस तथा परमवीरचक्र पनि थियो, तर शैक्षिकस्तर उच्च थिएन । यो यथार्थता हो । त्यसो हुँदा लाहुरे संस्कार त्यागेर नेपालको प्रशासनिक तथा शैक्षिक संस्थानमा प्रवेश गर्न खोज्दा आरम्भमा यिनीहरू असफल भए । त्यो असफलता किन त भन्दा लामो समयदेखि शैक्षिक परम्पराबाट विमुख बनेको हुनाले प्रशासनिक तथा शैक्षिक संस्थानका निमित्त आवश्यक योग्यता उनीहरूमा आइसकेको थिएन । आफ्नो असफलता, तर ब्राहृमण, क्षेत्री, नेवार आदिको सफलताले कतिपयलाई यस्तो भान पनि प¥यो कि, हो न हो यहाँ पक्षपात नै भएको होला । तर यथार्थता यो थिएन । किनकि अहिले हामी देखिरहेकै छौँ कि जसै ‘जनजाति’ हरूमा शिक्षाको स्तर वृद्धि हुँदै गएको छ त्यसै अनुपातमा प्रशासनिक तथा शैक्षिक क्षेत्रमा भाग पनि पाइरहेका छन् । आज ठूला पदहरूमा पुगेका मगर, गुरुङ राई, लिम्बू, शेर्पा, तामाङ् थुप्रै छन् । आगामी दिनमा यो संख्या अझ बढ्ने छ र यो स्वाभाविक हो ।

बस, यहीँनेर प्रष्ट हुन्छ कि समस्या के हो ? समस्या के भने शैक्षिक क्षेत्रमा लामो समयदेखिको संलग्नताले ब्राह्मण, क्षेत्री, नेवार तथा मधेसका पनि केहि जाति–समुदायचाहिँ राजनीतिक, प्रशासनिक, शैक्षिकजस्ता महत्वपूर्ण क्षेत्रमा अगाडि छन् भने यसतर्फ भर्खरै मात्र आएका हुँदा कतिपय ‘जनजाति’ हरूचाहिँ आफूलाई पछाडि परेको देख्दैछन् । अनि उनीहरूलाई छिटोछिटो आफ्नो भाग चाहिएको छ । तर परिवर्तनका लागि समय त लागिहाल्छ । त्यो समयको पर्खाइले उनीहरूमा अधैर्यता आएको छ । त्यो अधैर्यतालाई ‘क्यास’ गर्न अनेकखालका शक्ति लागिपरेका छन्, जसले समस्या समाधान गर्नेतर्फ भन्दा पनि जातीय द्वेष, घृणा र सामाजिक समन्वय खल्बल्याएर आफ्नो तुच्छ राजनीतिक स्वार्थपूर्ति गर्न पानी धमिल्याइरहेका छन् । तिनै अनेकखालका शक्तिका कुत्सित स्वार्थवश गरिने क्रियाकलापले समस्यालाई झन् जटिल बनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय