किन र कसरी फोहर भयो राजनीति ?

सविता घिमिरे

बिपी कोइराला नेपाली कांग्रेसको संस्थापक सभापति बन्दा ३२ वर्षका थिए । मात्रिकाप्रसाद कोइराला ४१ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । टाढा नजाउँ नेपाली कांग्रेसका होनहार युवा नेता राजीव ढुंगानालाई जुन उमेरमा नेविसंघको अध्यक्ष बनाइएको छ यो उमेरमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेका थिए ।

हामीले राजनीतिको प्रशंसा वा निन्दा जे गरे पनि राजनीतिविना राष्ट्र सञ्चालन सम्भव छैन । राजनीति भन्नाले जनताको शान्ति, सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्नेलगायत यस्तै अन्य कार्य गर्ने नीति भन्ने बुझिन्छ । राजनीति शास्त्रलाई अंग्रेजीमा पोलिटिकल साइन्स भनिन्छ । साइन्स भनेको विज्ञान हो । विज्ञानले प्रयोगद्वारा पुष्टि हुनसक्ने कुरालाई मात्रै प्रमाणित मान्छ । तर, राजनीति प्रयोगद्वारा पुष्टि र प्रमाणित नहुने खेल हो । राजनीति भनेको सम्भावनाको खेल हो भन्ने कुरा चरितार्थ भएको छ । राजनीतिक शब्दकोषमा असम्भव भन्ने शब्द नपाइने रहेछ ।

प्रायः जनताको मुखबाट सुन्ने गरिन्छ–‘राजनीति फोहरी खेल रहेछ ।’ जनता राजनीतिबाट वाक्कदिक्क भएर यसो भनेका हुन् । वास्तवमा राजनीति फोहरी खेल हुँदै होइन । राजनीति त वास्तवमा जनतालाई सुखी, सम्पन्नशाली बनाउने, देशलाई समृद्धिको शिखरमा पु¥याउने, आन्तरिक र बाहृय राष्ट्रियतालाई सुदृढ बनाउने, जनताका मौलिक हकको संरक्षण गर्ने एउटा विशिष्ट, उदान्त, अनुपम, सवल र सौन्दर्यपूर्ण नीति हो । राजनीति कसरी फोहरी खेल हुन सक्छ ? राजनीतिलाई त हाम्रा अगुवा नेताहरूले नै फोहरी खेल बनाएका हुन् । त्यसैले जनता दिग्भ्रमित छन् । नेताहरूले नै राजनीतिलाई फोहरी खेल बनाएका कारण सँगसँगै जस्तो स्वतन्त्र भएका छिमेकी देशहरू भारत र चीन प्रगतिको कति माथिल्लो सिँढी चढिसके । हामी अझै सय वर्षअघिको जंगली अवस्थामा छौँ । देशलाई यो दुर्गतिको दलदलमा फँसाएको राजनीतिले होइन, राजनीतिक खेलमैदानमा प्रवेश गरेका खेलाडीहरूले हो । खेलको दोष होइन खेलाडीहरूको दोष हो । नेताहरू मात्रै खराब होइनन् । नेताहरू बिग्रनुमा धुपौरे र चम्चे कार्यकर्ताहरू पनि उत्तिकै दोषी छन् ।

दार्शनिक चाणक्यले भनेका छन्, ‘सुलभाः पुरुषाः राजन् सततम् प्रियवादिन, अप्रियस्य च पथ्यश्च वक्ताः श्रोताः च दुर्लभ ः ।’ अर्थात् मीठो बोल्ने, सुन्ने मानिस पाउन सजिलो छ तर अप्रिय कुरा बोल्ने र सुन्ने मानिस पाउन दुर्लभ छ भनेझैँ मेरो कुरा तीतो लाग्न सक्छ । किन कि सत्य तीतो हुन्छ । राजनीति भनेको देशका सबै नीतिहरूको राजा हो । राजनीति हाक्नका लागि योग्य व्यक्तिहरू चाहिन्छ । तर राजनीतिमा खराब व्यक्तिहरू हावी भए भने देश कसरी तहसनहस हुन्छ ? भन्ने उदाहरण हाम्रो मुलुकले दर्शाएको छ । राजनीति आफैँमा फोहोर होइन फोहोरी मानसिकता बोकेका ब्यक्तिहरूले राजनीतिलाई दुर्घन्धित बनाएका हुन् ।

राजनीतिक खेलमा तीन वर्गमा व्यक्ति हुन्छन् । पहिलो वर्गमा राजनेता पर्छन्, जो अत्यन्त दुर्लभ हुन्छन् । कुनै पनि देशमा एक युगमा एक जना मात्रै राजनेता जन्मछन् । नेपालको सन्दर्भमा भन्नुपर्दा पृथ्वीनारायण शाह र बिपी कोइराला राजनेता हुन् । दोस्रो वर्गमा राजनीतिज्ञ पर्छन् । राजनीतिज्ञको संख्या अली ठूलो हुन्छ । समयको एकै कालखण्डमा दर्जनौँ राजनीतिज्ञ जन्मन्छन् । नेपालका सन्दर्भमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मदन भण्डारी, मोहनविक्रम सिंह, प्रदीप गिरि लगायतका नेताहरू राजनीतिज्ञ हुन् । यसैगरी राजनीतिकर्मीहरूको संख्या धेरै ठूलो हुन्छ । यति बेला नेपालमा जे जति छन्, ती सबै राजनीतिकर्मी हुन् । नेपालमा न राजनेता छन्, न सक्रिय राजनीतिज्ञ छन् । त्यसैले राजनीतिकर्मीबाट राजनेता वा राजनीतिज्ञको जस्तो अपेक्षा गर्नु जनताको कमजोरी हो । एकजना वा केही राजनीतिकर्मीले खराब काम गरे भन्दैमा सबै राजनीतिकर्मी खराब हुन्छन्, राजनीति भनेकै खराब हो भन्ने टुंगोमा पुुग्नु गलत हो । एकजना वा केही राजनीतिकर्मीले राम्रो काम गरे भन्दैमा सबै राजनीतिकर्मी राम्रा हुन्छन् भन्ने निष्कर्षमा पुग्नु पनि गलत हो । त्यसैले हामीले एकजना वा केहीलाई हेरेर समग्र राजनीतिको मूल्यांकन गर्नु तार्किक हुँदैन । त्यसबाट सत्य निष्कर्ष निकाल्न सकिँदैन ।

नेपालको सन्दर्भमा कुरा गर्दा राजनीति दुर्गन्धित भएको सत्य हो । केही राजनीतिकर्मीहरूले दुगन्र्धित बनाएको कुरा पनि सत्य हो । तर दुगन्धित भयो भन्दै नाक थुनेर राजनीतिबाट टाढाटाढा भाग्ने कि हिम्मत जुटाएर सफा बनाउन प्रयास गर्ने ? भन्ने जिम्मेवारी अब नयाँ पुस्ताको काँधमा आएको छ । राजनीति नभई हुँदैन । राजनीतिविना देश रहँदै रहँदैन । जसरी दुर्गन्धित शौचालयभित्र जाने हिम्मत जुटाउन नसकेर बाहिरै दिशापिसाब गरियो भने दुर्गन्ध झन फैलन्छ । यतिबेला नेपालको राजनीतिक पनि खेल पनि यस्तै फोहर शौचालयजस्तै भएको छ । नयाँ पुस्ताका सक्षम र काबिल युवाहरूले आपैmँ खेलमा सरिक भएर राजनीतिलाई सफा गर्न थाल्ने हो भने अवस्य पनि केही दशमा दुर्गन्ध हट्छ । तर नाक थुनेर बाहिरै बस्ने हो भने कहिल्यै पनि दुर्गन्ध हट्नेवाला छैन ।

राजनीति आपैmँमा कञ्चन पानी हो, त्यसमा चिनी र कागती मिसायो भने सर्वत हुन्छ । दही मिसायो भने मही बन्छ । दिशापिसाब मिसायो भने ढल बन्छ । पानी त मेलम्ची र टुकुचा खोलाको एउटै हो । तर, मेलम्चीको पानी पिउन लायक छ तर टुकुचा खेलाको नजिकसमेत जान सकिन्न । टुकुचा खोलाको पानी पनि आजभन्दा ५० वर्ष अघिसम्म माछा पाइन्थे, पौडीखेल्न सकिन्थ्यो तर यतिबेला ढल बगिरहेको छ । नेपाली राजनीतिलाई पनि टुकुचाजस्तै बनाइएको छ । पानी आपैmँमा फोहर नभएजस्तै राजनीति पनि आपैmँमा फोहोरी चिज होइन ।

यतिबेला मुलुकका प्रायः सबै प्रभावशाली राजनीतिकदलहरू महाधिवेशनको चरणमा छन् । महाधिवेशन भनेको कुनै तलाउमा पानी परिवर्तन गरिने पर्वजस्तै हो । यदि साविकको भन्दा पनि फोहर पानी हालियो भने तलाउ झन् दुर्गन्धित हुन्छ । यदि सफा पानी हाल्ने हो भने तलाउ वास्तवमै पौडी खेल्न लायक मनमोहक हुन्छ । यतिबेला नेपाली कांग्रेस बाहेक अरू पार्टीहरूले त साविककै पानीलाई निरन्तरता दिने निर्णय गरिसके । एमालेमा केपी ओलीले नै निरन्तरता पाउँदैछन्, माओवादी केन्द्रमा प्रचण्डले नै निरन्तरता पाउँदैछन् । राप्रपामा कमल थापाले नै निरन्तरता पाउँदैछन् । तर, नेपालको राजनीतिको मियो पार्टी नेपाली कांग्रेसले भने नेतृत्व परिवर्तनको जिम्मा महाधिवेशन प्रतिनिधिहरूलाई दिने निर्णय गरिसकेको छ । आसन्न १४औँ महाधिवेशनमा नीति, विचार तथा सिद्धान्तको मन्थनजस्ता अपरिहार्य कार्यक्रमलाई सभापति देउवाले निरन्तरता दिन नसके पनि नेतृत्वका लागि भने निर्वाचन गराउन राजी हुनुभएको छ । अब केहीदिनमै महाधिवेशन प्रतिनिधिहरू चयन हुनेछन् । तिनै महाधिवेशन प्रतिनिधिहरूले यही २५ मंसिरमा केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । नेपाली कांग्रेसलाई कसकसले दुर्गन्धित बनाएका छन् ? भन्ने हेक्का राखेर महाधिवेशन प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गरे भने नेपाली कांग्रेसरूपी तलाउमा सफा पानी भरिनेछ, यदि विवेक राखेनन् भने झन् दुर्गन्धित हुनेछ ।

घोषित उद्देश्य त सबै राजनीतिक दलहरूको समृद्ध नेपाल बनाउने नै हो । नेता तथा कार्यकर्ता भनेका दलका पाटपुर्जा हुन् । दलहरूभित्र कस्ता नेता तथा कार्यकर्ता फिट गर्ने ? कस्ता नेता तथा कार्यकर्ता भएका दललाई मत दिने ? भन्ने निर्धारण गर्ने अधिकार जनतालाई छ । तर मतदानका बेला विवेक नपु¥याउने अरूबेला चोक, चौतारी र चियापसलमा बसेर राजनीतिलाई नै सत्तोसराप गरिरहने प्रवृत्ति हामी नेपाली जनतामा हावी छ आफ्नो इमानका लागि, देशका लागि र आफ्ना सन्ततिका लागि आआफ्नो भूमिका हामी जनताले निर्वाह गर्ने हो भने मात्रै नेपाल समृद्ध बन्छ । उदाहरणका लागि आफ्ना बालबच्चालाई मोबाइल टेलिफोन दिएर टिकटकमा भुलाउने तर सरकारले उचित शिक्षाको प्रबन्ध गरिदिएन भनेर सत्तोसराप गर्ने प्रवृत्ति त्यागौँ । सकारात्मक विरोध गरौँ अर्थात् विद्यालयको पढाइ राम्रो नभए बच्चालाई घरमै ट्युसन पढाएर भए पनि काबिल बनाउन पट्टी लाग्नुपर्छ, अर्काको कुरा काटेर समय खेर फाल्नु हुँदैन ।

बास्तवमा राजनीतिक व्यवस्था परिवर्तनका लागि नेपालीले पटकपटक संघर्ष गरे । लामो समय त्यसमै खर्चिए । परिवर्तनका लागि संघर्ष गर्नेमा अहिलेको पुस्ता तेस्रा या चौथो हो । अब आउने पुस्ताले समृद्धिको लडाइँ लड्ने कि व्यवस्था परिवर्तनका लागि ? अब आउने पुस्ताले पनि लड्न प¥यो भने देशका लागि त्यो भन्दा बिडम्वना अरू के होला ? आउने पुस्ताको समय पनि यसैगरी नबितोस् ।

राजनीतिको शीर्षबिन्दुमा अहिले उनको ‘हजुरबुबा’ पुस्ता छ । उमेर ७० कै वरिपरि रहेकाहरूकै वरिपरि राजनीति घुमिरहेको छ । उनीहरू फेरि पनि सत्ता, शक्ति र पार्टीको नेतृत्वका लागि तँछाडमछाड गरिरहेका छन् । यहाँ भन्दा ठूलो विडम्वना अर्को के हुन सक्छ ? यो पुस्ताले अब नेतृत्व होइन, अभिभावकत्व प्रदान गर्नुपर्छ ३४ वर्षको उमेरमा डेनमार्कमा एक महिलाले प्रधानमन्त्रीको भूमिका बहन गर्नसक्ने तर नेपालमा ५४ वर्षका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउनैपर्ने वाध्यता कसरी उत्पन्न भयो ? नेताहरूले त्यो अवसर दिन नखोज्दा युवा पुस्ताले चाहेको गर्न नपाएको यथार्थतालाई पनि नजरअन्दाज गर्न मिल्दैन । अहिलेको शीर्ष तहको नेतृत्वमा रहेकाहरूले पहिले युवा उमेरमै अवसर पाएका तमाम नजिर छन् । ३४ वर्षको उमेरमै झलनाथ खनाल वर्तमान एमाले पार्टीको महासचिव भएका थिए ।

मदन भण्डारीले युवा अवस्थामै जनताको बहुदलीय जनवादको प्रतिपादन गरे । बिपी कोइराला नेपाली कांग्रेसको संस्थापक सभापति बन्दा ३२ वर्षका थिए । मात्रिकाप्रसाद कोइराला ४१ वर्षको उमेरमा प्रधानान्त्री बनेका थिए । टाढा नजाउँ नेपाली कांग्रेसका होनाहार युवा नेता राजीव ढुंगानालाई जुन उमेरमा नेविसंघको अध्यक्ष बनाइएको छ यो उमेरमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेका थिए । अघिल्लो पुस्ताले युवामा विश्वास नगर्नु पनि नेपालको राजनीति दुर्गन्धित हुनुको मुख्य कारण हो । नयाँ पुस्तालाई अघि ल्याउने लचकता पुरानो पुस्ताले देखाउनुपर्छ ।

तर यो मामिलामा युवा पुस्ता पनि कम दोषी छैन । सानो लोभमा फँसेको छ । उदाहरणका लागि नेविसंघको अध्यक्ष होइन पार्टी सभापति बन्ने मेरो बेला भइसक्यो भनेर राजीव ढुंगानाले भन्न सकेको खोइ ? व्यक्तिलाई प्रधान बनाएर अहिले युवा पुस्ता विभक्त छ । मुद्दा छायामा परेको छ । त्यसैले व्यक्तिभन्दा मुद्दालाई समात्दा मात्रै आफूले चाहेको गन्तव्य प्राप्त हुन्छ ।

प्रतिक्रिया