तीन जिल्लाको संगमस्थलमा टेलिकमको सेवा

बागलुङ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको संगमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो । यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बिटियस टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकम बागलुङ कार्यालयका प्रमुख एवं वरिष्ठ इञ्जिनियर केशव शर्माले जानकारी दिए ।
टेलिकमले सेवा विस्तार गरेसँगै त्यस क्षेत्रका सर्वसाधारणले मोबाइल र उच्च गतिको फोरजी इन्टरनेट प्रयोग गर्न पाएका छन् । यसअघि त्यहाँ कुनै पनि दूरसञ्चार सेवा पुग्न सकेको थिएन । मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर पातीहाल्ने हुँदै बागलुङ–रुकुम आउजाउ गर्ने यात्रुसमेत सञ्चारबाट वञ्चित हुनुपर्ने स्थिति थियो ।

लोकमार्गले छिचोलेपछि तिलाचन धुरी र त्यस आसपासमा बढ्दो पर्यटकीय गतिविधि तथा यात्रुको सुविधालाई हेरेर सेवा विस्तार गरिएको प्रमुख शर्माले बताए । त्यहाँ बस्ती भने कम छ । तल्लो भेगका किसान मौसमी रूपमा पशुचौपाया लिएर तिलाचन लेक जाने गर्छन् । पहिले पहिले तीनै जिल्लाका गोठालाको बसोवास क्षेत्रका रूपमा पनि त्यो ठाउँलाई चिनिन्थ्यो । ‘मुख्य गरी राजमार्ग र पर्यटकीय क्षेत्रलाई लक्षित गरी तिलाचन धुरीमा टेलिकमको सेवा विस्तार गरिएको हो, त्यसबाट स्थानीयवासीलाई पनि लाभ मिलेको छ’, प्रमुख शर्माले भने । उनले जिल्लाका कुनाकाप्चासम्म टेलिकमको गुणस्तरीय सेवा पु¥याउने अभियानमा आफूहरू लागिपरेको बताए ।

पहिलोपटक टेलिकमको सेवा पुगेपछि तिलाचन धुरीको नजिक बसोवास गरिरहेका तीनै जिल्लाका सर्वसाधारण खुसी छन् । भौगोलिक विकटता भए पनि सञ्चार सुविधाले गाउँलेको दैनिकी सहज बनेको छ । लोकमार्गदेखि खच्चरमा उपकरण र सामग्री बोकाएर टेलिकमले ३ हजार ४ सय मिटर उचाइको धुरीमा टावरको संरचना खडा गरेको थियो । अहिले दिइएको सेवालाई थप गुणस्तरीय बनाउन पछि उपकरण र प्रविधि थपिने टेलिकमले जनाएको छ ।

विद्युत् सेवा नपुगेकाले सौर्य ऊर्जामार्फत टावर सञ्चालनमा ल्याइएको छ । मोबाइल र इन्टरनेट सुविधाले पर्यटकलाई थप आकर्षित गर्न सकिने पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए । उनले पछिल्लो समय त्यस ठाउँमा घुमफिर, वनभोजलगायत मनोरञ्जनका लागि आउनेको संख्या बढ्दो छ । त्यहाँ रहेका रिगा र तिलाचन तालले पनि पर्यटकीय आकर्षण थपेको छ । मनोरम भू–बनोट, गाउँले जनजीवन, प्राकृतिक सुन्दरता र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । लोकमार्ग कालोपत्र भएपछि पर्यटकको आउजाउसमेत सहज बनेको छ । बागलुङ सदरमुकामदेखि १ सय ४२ किमिमा पातीहाल्ने पर्छ ।

प्रतिक्रिया