अर्थबजार

एनसेल वर्ल्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

सौर्य अनलाइन २०७८ कार्तिक ११ गते २०:२२ मा प्रकाशित

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कार्तिक ९ (अक्टोबर २६) गते आयोजना भएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रम माझ अवार्डको विजेताको घोषणा भएको थियो ।

सन् १९९९ मा सुरु भएको वर्ल्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात् विपद प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भुकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानहरुको सरहना गर्दछ ।

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरु मार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्याउदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्याए बापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’प्रदान गरिएको हो ।

त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भुकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’प्रदान गरिएको हो । वर्ल्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्ष देखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय