महासंघद्वारा विद्युत् महसुल दर घटाउने निर्णयको स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महसुल दर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने विद्युत् नियमन आयोगको निर्णयको स्वागत गरेको छ । कोभिड–१९ को संकटमा रहेको उद्योग–व्यवसायलाई यसले थप राहत पुग्ने महासंघको विश्वास छ ।

डिमान्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको महासंघले जनाएको छ । यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केही मात्रामा भए पनि सहयोग पुग्ने महासंघको विश्वास छ ।

महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत् महसुल न्यून गरी अन्य शुल्क समेत हटाउँदै जानुपर्ने र उद्योगहरूलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ ।

विद्युत् खपत बढाउन औद्योगिक ग्राहकका लागि महसुल अझ सस्तो हुनुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया