इजिप्टमा नेपाली लोकधुन

काठमाडौं । इजिप्टमा आयोजित महोत्सवमा नेपाली कलाकारले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोकधुन प्रस्तुत गरेका छन् । इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिभल’ मा नेपाल पहिलो पटक सहभागी भएको हो । २४ अक्टोबरदेखि ३० तारेखसम्म चल्ने महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा चारजनाको टोली इजिप्ट पुगेको छ ।

उक्त टोलीमा सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा र मादलवादक नरेश प्रजापति सहभागी छन् । महोत्सवमा नेपालसहित इण्डोनेसिया, मेक्सिको, जोर्डन, अजरबैजान, प्यालेस्टाइन र इजिप्टका सात समूह सहभागी छन् । उक्त कार्यक्रमको ‘गार्डेन अफ इजिप्ट’ भनेर चिनिने सांस्कृतिक सहर इस्मालियाको कल्चरल प्यालेसमा इजिप्टका संस्कृतिमन्त्री र इस्मालियाका गभर्नरले भव्य रुपमा उद्घाटन गरे । सो समारोहमा सहभागी सबै मुलुकको झण्डा फहराइएको थियो भने स्टेजमा आआफ्नो देशको ब्यानरसहित कलाकारले मार्चपाससमेत गरेका थिए ।

समारोहमा नेपाली कलाकारले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोकधुन प्रस्तुत गरेका थिए । ‘इस्मालिया फोकलोर फेस्टिभलमा नेपाल पहिलो पटक सहभागी भएको हो’, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले भने, ‘विश्व प्रसिद्ध यस महोत्सवमा नेपालप्रति जुन आकर्षण देखिएको छ यसले हामीलाई अझ उत्साहित बनाएको छ ।’ उनले नेपालको प्रस्तुति सहभागी मुलुकका लागि जति चासोको विषय बनेको छ त्यत्तिकै रोमाञ्चकारी पनि मानेको बताए । महाप्रबन्धक राईले यस प्रकारका अन्तर्राष्ट्रिय मञ्चलाई सदुपयोग गर्न सके नेपालको सांस्कृतिक विविधतालाई विश्व रंगमञ्चमा पु¥याउन सकिने जिकिर गरे । सात दिन चल्ने महोत्सवमा सांस्कृतिक एवं ऐतिहासिक स्थलमा सहभागी मुलुकको प्रस्तुतिसहित कार्यक्रम चल्ने जनाइएको छ ।

प्रतिक्रिया