एन्फा र अलमुताइरीबीच तीन वर्षको सम्झौता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन् । प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताएका हुन् । यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए ।

यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाएनन् । साफको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । २८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल उपविजेतामै सीमित बनेको थियो । फाइनलमा नेपाललाई भारतले ३-० ले पराजित गरेको थियो । फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। यद्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताए ।

फाइनलपछि उनले दिएको अन्तर्वार्तामा दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए । अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। त्यहिबेला एन्फाले उनीसँग एक वर्षको सम्झौता भएको बताएको थियो । तर अलुमाइरीले नेपालसँगको सम्झौता यहिँ महिना सकिने भन्दै सार्वजनिक अभिव्यक्त दिएका थिए ।

अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षण गर्न गत वर्ष पठाएको थियो । नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने एन्फाको भनाइ छ । एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ ।

प्रतिक्रिया