क्षतिपूर्ति बारे छलफलमा जुटे कृषि मन्त्री यादव

काठमाडौं । किसानको समस्यालाई लिएर संघीय सरकारका माननीय कृषि तथा पशुपंक्षि विकास मन्त्री महेन्द्र राय यादवले सिंहदरबारस्थित कृषि मन्त्रालयमा सातवटै प्रदेशका कृषिमन्त्रीहरूसँग मंगलबार छलफल सुरु गरेका छन् । हालै देशमा आएको बाढी पहिरोका कारण भएको क्षति तथा पीडित किसानलाई दिइने राहत एवं क्षतिपूर्तिको बारेमा छलफल सुरु भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले बताएका छन् ।

सात वटै प्रदेशको प्रारम्भिक क्षति विवरण मन्त्रालयमा आइपुगेकोले प्रारम्भिक क्षतिको आधारमा अरू थप के गर्न सकिन्छ, तत्काल राहत कसरी र कति दिने, थप क्षतिपूर्ति दिनका लागि कस्तो प्रक्रिया अपनाउने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता सञ्जेलले जानकारी गराएका छन् ।

पीडित किसानलाई राहत दिनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय हुने कृषि मन्त्रालयले समेत जनाएको छ । छलफलमा सात वटै प्रदेशका कृषि मन्त्रीहरूको धारणा सुनिसकेपछि संघीय सरकारले पीडित किसानहरुका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्थामा लाग्ने मन्त्रालयले जनाएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि मन्त्री यादवसँग बाढीका कारण देशभरि कृषि क्षेत्रमा भएको क्षति बारे जानकारी समेत लिएकी थिइन् । मन्त्री यादवलाई राष्ट्रपति कार्यालयमा बोलाएर क्षतिको बारेमा ब्रिफिङ सुनेपछि राष्ट्रपति भण्डारीले किसानलाई तत्कालै राहत प्रदान गर्न सुझाव दिएकि हुन् ।

हालसम्म कृषि मन्त्रालयलाई प्राप्त विवरण अनुसार बाढीले साढे आठ अर्बको धानबाली क्षति गरेको छ । प्रारम्भिक विवरण अनुसार साढे दुई लाख मेट्रिकटन धानमा क्षति पुगेको कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया