प्रथम रेडियो सान्भी म्युजिक अवार्ड हुने

पर्सा । पिसि मिडिया प्रालिद्वारा सञ्चालित रेडियो सान्भीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले यही कार्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो । गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले रेडियो सान्भीले सान्भी म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक एंव रेडियो सान्भीका समाचार प्रमुख दिपक गौतमले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा उपस्थित स्थानीय कलाकार अजमत अलिले यस्ता कार्यक्रम आयोजना गरिनुले सबै कलाप्रेमीहरुलाई उत्साहित बनाएको बताउदै निरन्तरताको आग्रह समेत गरे । त्यस्तै स्थानीय क्षेत्रमा प्रसिद्ध कलाकार सुनिल पण्डितले अवार्ड कार्यक्रमले कलाकारहरुमा उर्जा थप्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले रेडियो, गीत संगीत र कलाकार एकआपसमा जोडिएकाले रेडियो सान्भीले गीत, संगीतका क्षेत्रमा क्रियाशिल कलाकारलाई सम्मानित गर्ने उदेश्यले आयोजना गर्न लागेको कार्यक्रमको सफलताको कामना गरे । चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले अन्य जिल्लामा रहेका रेडियोहरुले जस्तै वीरगञ्जमा रेडियो सान्भीले पहिलो पटक म्युजिक अवार्ड गर्न थालेको बताउदै आफूहरुले सक्दो सहयोग र साथ दिने प्रतिबद्धता जनाइन ।

पत्रकार सम्मेलनमा चलचित्र पत्रकारसंघ पर्साले म्युजिक अवार्डमा प्राबिधिक सहयोग गर्ने भनी रेडियो सान्भीका बिच गरेको सम्झौता आदानप्रदान गरिएको थियो । रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादव र चलचित्र पत्रकारसंघ पर्साकी अध्यक्ष निलिमा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे । कोरोना भाइरसको महामारीमा पनि विभिन्न संघ संस्थाहरुलाई सेनेटाइजर, मास्कसहितका स्वास्थ्य सामाग्री वितरणदेखि खाद्यान्न सामाग्री समेत वितरण गरेर रेडियोले सामाजिक कार्यमा पनि अग्रसरता देखाउँदै आएको छ ।

स्थानीय स्तरका कलाकारहरुलाई हौसला र प्रोत्साहन गर्ने र यहाँको कलालाई देशैभर स्थापित गर्न सघाउने अभिप्रायले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने हामीले निर्णय गरेको रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादवले बताए । गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका यहाँकै स्थानीय कलाकारहरुको प्रोत्साहन स्वरुप आयोजना गर्न लागिएको म्युजिक अवार्डले कला प्रतिभाको सम्मान हुने उहाले बताए ।

पत्रकार सम्मेलनको सहजीकरण सूर्य विश्वकर्माले गरेका थिए भने रेडियोसान्भीका कार्यक्रम संयोजक मुकलेश गद्दीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ लाई सफल पार्नका लागि सबैलाई आग्रह गरे । सांगीतिक क्षेत्रमा सुनौलो भविष्य खोजीरहेका स्थानीय स्तरका कलाकारहरुको कामको मुल्यांकन गर्दै विभिन्न १० विधामा उत्कृष्ट कलाकारहरुलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया