रंग‍-विविध

मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँ : उपराष्ट्रपति पुन

सौर्य अनलाइन २०७८ कार्तिक ९ गते १४:४४ मा प्रकाशित

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको आज उद्घाटन गर्दै उनले मौलिक संस्कृतिको जगेर्ना र प्रबद्र्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे ।

‘मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ, हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ, हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?’, उनले भने, ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन, राष्ट्र भनेको भूगोल मात्रै होइन, मेरो आग्रह छ –हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ, प्रबद्र्धन गरौँ र भावी पुस्तालाई हस्तान्तरण गरौँ ।’

लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, सम्वृद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले राज्य उक्त दायित्वबाट पछि हट्न नमिल्ने बताए । ‘यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ’, उनले भने ।

‘लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुछ । यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेछ’, उपराष्ट्रपतिले भने, ‘यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ, विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ ।’

लोकवार्तासँग सम्बन्धित क्षेत्रको अनुसन्धान, अध्ययन र संरक्षण तथा सम्बद्र्धनका लागि लोकवार्ता परिषद्ले गरिरहेको काम र नेपाल प्रज्ञा–प्रतिष्ठानले गरिरहेको सहयोगको प्रसंशा गर्दै उपराष्ट्रपतिले यसले नेपालको लोकवार्ताको अनुसन्धान, संरक्षण र प्रवद्र्धनका लागि सहयोग गरेको बताए । कार्यक्रममा नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय