विज्ञापन आचारसंहिताको मस्यौदा सार्वजनिक

काठमाडौं । विज्ञापन बोर्डले विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । विज्ञापन दिवसको अवसरमा बोर्डले सोमवार गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मस्यौदा सार्वजनिक गरेका हुन् । आचार संहिता २०७८ को मस्यौदा लागू भएपछि विज्ञापन क्षेत्रका विकृति हटाएर यसलाई व्यवस्थित र पारदर्शी बनाउन तयार गरिएको मस्यौदा सरोकारवालासँगको छलफलपछि कार्यान्वयन गरिने बताइएको छ ।

सरकारी विज्ञापनमा हुने गरेको अनियमितता, बहुराष्ट्रिय कम्पनीले नेपालमा आफ्नो व्यवसाय प्रवर्द्धनका लागि विज्ञापनमा नगन्य खर्च गर्ने गरेका जस्तो विकृतिहरु रहेको उक्त आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक कार्यक्रममा सहभागीहरुले बताएका छन् । हाल विभिन्न कम्पनीहरुले विज्ञापनको बजेट कटौती गर्ने, होडिङबोर्डका नाममा जथाभावी विज्ञापन गरिरहेको समेत बताएका थिए ।

कार्यक्रममा सञ्चार तथा सुचना प्रविधिमन्त्री कार्कीले राजमार्गदेखि शहरी क्षेत्रमा राखिने होडिङ बोर्डको असरका बारेमा अध्ययन गर्न निर्देशन दिएका थिए भने विज्ञापन व्यवसायको विकास गर्न सरकार सहयोग गर्न तयार रहेको बताए । विज्ञापन आचार संहिताले विज्ञापनलाई मर्यादित बनाउन सहयोग गर्ने बताउँदै कार्कीले यसलाई सर्वस्वीकार्य र कार्यान्वयनयोग्य बनाउन सुझाव दिए ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन ऐनमा केही कमी कमजोरी रहेको स्वीकार गर्दै त्यसलाई समयानुकुल संशोधन गर्दै जानुपर्ने बताएका छन् । विज्ञापन परीक्षणको मापदण्ड तयार पारिसकेको उनले जानकारी दिए । आगामी असारसम्ममा विज्ञापनको राष्ट्रिय नीति तयार गरी सरकारलाई पेश गर्ने र अर्को बर्ष विज्ञापन नीति जारी गर्ने योजना रहेको पनि बताए ।

सामाजिक सञ्जालमा अनधिकृतरुपमा विज्ञापन गर्ने बढ्दो प्रवृत्तिले सञ्चार माध्यममा विज्ञापन नगर्ने प्रवृत्ति बढेको उनले आरोप समेत लगाए । उनले भने, ‘विज्ञापन एजेन्सीले हचुवाको आधारमा सञ्चार माध्यममा विज्ञापन गर्ने गरेको पाइएको छ । बोर्डले अब यस्तो अव्यवस्थित विज्ञापन बजारलाई व्यवस्थि गर्छ ।’ कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, नेपाल उद्यो वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, विज्ञापन संघका अध्यक्ष सोम धितालले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया