कार्यशाला, गोष्ठी र प्रदर्शनी सम्पन्न

कास्की । नेपालमा जलरङको विकास तथा अवस्थाका बारेमा केन्द्रित रहेर तीनदिने कार्यशाला, गोष्ठी तथा प्रदर्शनी भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागको आयोजना र गण्डकी प्रज्ञा–प्रतिष्ठान गण्डकी प्रदेश, पोखराको सहआयोजनामा भएको ‘प्रयोगात्मक जलरंग चित्रकला कार्यशाला’ मा दुई दर्जन बढी कलाकार सहभागी भएका थिए । उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कला विकासका निम्ति कार्यशाला, गोष्ठी तथा प्रदर्शनी हुनु निकै सकारात्मक कार्य भएको बताए । उनले पोखरामा कलाको प्रचुर सम्भावना रहेको र यसको विकासका निम्ति कलाकारसमेत जागरुक हुनुपर्नेमा जोड दिए । कुलपति कर्माचार्यले कलाक्षेत्रमा लागेका पोखराजस्तो सुन्दर नगरीमा जुन कार्यक्रमको आयोजना गर्नु अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘पोखरामा भएको कार्यशाला, गोष्ठी र प्रदर्शनी नेपाली कला विकासका लागि ज्यादै महत्व राख्ने खालको छ ।’ उनले जुन देशमा कलाको विकास हुन्छ त्यो देश समृद्ध हुने धारणा राखे ।

कार्यक्रममा प्राज्ञ बद्धि गुरुङ कलाका विभिन्न रुप हुने बताउँदै पोखरामा विगत पाँच दशकदेखि नियमित रुपमा कलाका गतिविधि हुँदै आएको बताए । उनले भने, ‘पोखरामा जलरङको क्षेत्रमा पहिलेदेखि नै धेरै कलाकारले काम गरेका छन् । पोखरेली कलाकारले यहाँको प्रकृतिलाई मौलिक ढंगले रङको प्रयोग गर्दै तयार पारेका कलाले पोखरालाई चिनाउन सफल भएका छन् । तसर्थ यी कलाले नेपाली कलामै विशेष महत्व राख्दछन् ।’

यस्तै, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड््का विर्खचीले प्रतिष्ठान कलाको विकास, प्रवद्र्धन र प्रचार प्रसारका निमित्त हरतरहले सहयोग गर्न तयार रहेको बताए । सो कार्यक्रमको अवसर पारेर कलाकार यादवचन्द्र भुर्तेल र क्षेत्रलाल कायस्थलाई सम्मान गरिएको थियो । गण्डकी प्रदेश प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ हजारौं शब्दले बोल्न नसकेको कुरा एउटै चित्रले बोल्छ र समाज परिवर्तन गर्न सक्ने धारणा व्यक्त गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागका प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले कला विकासका निम्ति कलाकारको जागरुकता हुनु महत्वपूर्ण हुने बताइन् । उनले समाज रुपान्तरणमा कलाको भूमिका विशेष हुने भएकाले कलाकारको उचित सम्मान हुनुपर्नेमा जोड दिइन् । सो हिल प्वाइन्ट माविमा भएको उक्त कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, कलाकार तथा कलालेखक देवेन्द्र थुम्केली, सिर्जनशील कलाकार समूह कास्कीका उपाध्यक्ष दलबहादुर गुरुङ, पोखरेली युवा सांस्कृतिक परिवार कास्कीका अध्यक्ष मोती भुजेल, कलाकार गोपाल श्रेष्ठ, हरेराम जोजिजु, लोकप्रसाद गुरुङ, इन्टरनेसनल वाटर कलर सोसाइटीका अध्यक्ष एनबी.गुरुङ, बालसाहित्यकार राजेन्द्रभक्त जोशी लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

पहिलो दिनको कार्यशालामा कलाकार यादवचन्द्र भुर्तेल, बुद्धि गुरुङ, आलोक गुरुङ, महेन्द्रप्रसाद राजभण्डारी, हरेराम जोजिजु, रमेश श्रेष्ठ, राजदूर जोशी, देवेन्द्र थुम्केली, बाबुराम बस्ताकोटी, एनबी गुरुङ, दलबहादुर गुरुङ, ज्योति गुरुङ, हेमकान्ती गुरुङ, ढाका पराजुली, रिक गुरुङ, निसान थापा, लक्ष्मी पुन, आकाश गुरुङ, एसकुमार, गोपाल दराई, शारदा नेपाली, कमल गुरुङ, अमृत कार्की, झविन्द्र गुरुङ, युवराज लामिछाने, शिव शिर्पाली, माधव शाही, सुरेन्द्र अधिकारी, लगायतका कलाकार सहभागी भएका थिए ।

यस्तै, दोस्रो दिनको गोष्ठीमा कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले ‘नेपालमा जलङ हिजो र आज’ तथा कलाकार एनबी गुरुङले ‘नेपालमा जलङको प्रयोगात्मक अवस्था’ का बारेमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, प्रदर्शनीको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्दै कलाको विकासका निम्ति सरकारले आवश्यक सहयोग गर्ने बताए । सो अवसरमा उनले कलाको विकासविना राज्य समृद्ध बन्न नसक्ने जिकिर गरे ।

प्रतिक्रिया