नासिर फिना विश्व च्याम्पियनसिपमा छनोट

 

काठमाडौं । नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५ औं फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनोट भएका छन् । नेपाल पौडी संघले आइतबार सातदोबाटोस्थित २५ मिटरको पौडीपोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।

यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनेट ००.०४ सेकेण्डको कीर्तिमान रहेको थियो । शाहले उक्त कीर्तिमान दुई वर्षअघि काठमाडौंमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए । दुई पुरुष र दुई महिलाको लागि भएको छनोट प्रतियोगितामा ओलम्पियन शाह पनि छनोट भएका छन् । उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेका शाहले मापदण्डलाई पूरा गरेका कारण छनोट हुन सफल भएको जनाएको छ । गौरिका सिंह भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले सहभागी हुन नसकेको संघले जनाएको छ ।

दुई महिलातर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसिपको लागि छनोट हुने अवसरमा प्राप्त गरेका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनेट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनोट हुन सफल भएका हुन् ।

सोही छनोटका क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेण्डमा पूरा गरेका थिए । यसअघि उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनेट ००.२५ सेकेण्डको रहेको थियो । शाहले उक्त कीर्तिमान नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेका थिए ।

प्रतिक्रिया