किसानहरूको रुवाबासी

यतिबेला हाम्रा अन्नदाता किसानहरूको घरमा रुवाबासी चलिरहेको छ विजयादशमीको भोलिपल्टदेखि लगातार चार दिनसम्म देशैभर भएको भीषण वर्षाका कारण धेरै ठूलो धनजनको क्षति भएको छ । बेमौसममा भएको यो भीषण वर्ष हाम्रो मुलुकका लागि तत्कालिक नोक्सानी मात्रै होइन भविष्यमा पनि खतराको संकेत हो । धेरैले यसलाई जलवायु परिवर्तनको असरका रूपमा लिएका छन् । नेपालमा वर्षा हुने प्राकृतिक समयतालिका छ । असारदेखि असोजसम्म भारी वर्षा हुन्छ । यो अवधीलाई मनसुन भनिन्छ । मनसुनको बेला सर्वसाधरण जनताले पनि बाढीपहिरोबाट बच्न प्रशस्त सतर्कता अपनाउने गर्छन् । मुख्यबाली धान र कोदो लगाउने समय पनि यही हो । कृषिप्रधान देश भनिए पनि, प्रसस्त खोलानाला तथा नदीहरू भए पनि हाम्रो मुलुकमा सिँचाइको राम्रो सुविधा छैन । मनसुन नै हाम्रो मुलुकको सिँचाइको मुख्य स्रोत हो । जसलाई आकशे कुलो पनि भन्ने गरिन्छ । बाढीपहिरोले जति क्षति पु¥याउने गरेको भए पनि मनसुनलाई प्राकृतिक वरदानका रूपमा लिने गरिन्छ ।

आकाशबाट पर्ने पानीलाई नै आधार बनाएर हाम्रो कृषि प्रणालीको चक्र चल्दै आएको छ । असारदेखि असोजसम्मको अवधीबाहेक अरू बेला फाट्टफुट्ट पानी पर्छ । तर, यसपटक भने कात्तिक लागेपछि धेरै ठूलो पानी प¥यो । त्यो पनि देशको कुनै निश्चित भूभागमा होइन, मेचीदेखि महाकालीसम्म नै एकैचोटी ठूलो पानी परेर बाढी तथा पहिरोले अकल्पनीय वितण्डा मच्चायो । क्षतिको अन्तिम विवरण आउन बा“की छ, तर क्षति अकल्पनीय छ । खेतमा धान पाकिसकेको थियो । केही किसानहरू बडादसैँ सकिनासाथ धानबाली भित्र्याउने तयारीमा थिए भने केही किसानले दसैँलाई भन्दा आफ्नो प्राणभन्दा पनि प्यारो धानबाली भित्र्याउने कामलाई प्राथमिकता दिएका थिए । धानकाटेर खेतमा निहिन लगाएका थिए । दुई–दीन मात्रै पानी नपेरको भए धान भित्रिन्थ्यो । धान यस्तो संवेदनशील अन्न हो जो पानीमा भिजेको २४ घण्टादेखि नै उम्रिन थाल्छ । तर, यस पटकको बाढीले चार दिनसम्म पाकेको धानलाई डुबाइदियो । वर्ष भरी खाने र वडा–पैरीका लागि बिक्री गर्ने धान सखाप भएपछि किसानहरू बिचल्लीमा परेका छन् । तराई भनेको नेपालको अन्न भण्डार हो ।

त्यसमा पनि धान त तराईका किसानको जीविकोपार्जनका मुख्य साधन हो । अर्थतन्त्रको मेरुदण्ड नै हो । झापादेखि कैलालीसम्म तराईका सबै जिल्लामा धानबाली नष्ट भएका कारण अब किसानहरूले के खाने ? कसरी वडा–पैरी गर्ने ? भन्ने समस्या सानो छैन । यो निकै कहालीलाग्दो संकट हो । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान करिब २७ प्रतिशत रहेको छ भने कृषिको कुल ग्रार्हस्थ उत्पादनमा धानले झन्डै २१ प्रतिशत योगदान दिने गरेको छ । यस हिसाबले देशको अर्थतन्त्रमा धानको योगदान करिब एक खर्ब रुपैयाँ बराबर रहेको मानिन्छ । कृषि बालीमा सबैभन्दा मुख्य बाली भएकाले देशकै अर्थतन्त्रमा धानको योगदान उल्लेख्य हुन्छ । यस हिसाबले पनि अहिलेको वर्षाले धान खेतीमा मात्रै करिव ५० अर्ब रुपैयाँ बराबरको नोक्सान पु¥याएको छ । मुलुकको कुल ग्रार्हस्थ उत्पादनलाई यो भीषण वर्षाले १ दशमलव ५ प्रतिशत ऋणात्मक असर पु¥याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकोप्टर लिएर घुम्नेबाहेक उद्धार तथा राहतका लागि केही प्रयास भएको देखिएको छैन । पानी पर्ने क्रम रोकिएका कारण उद्धारको समस्या त करिब करिब टरिसेकेको छ, तर राहतका लागि के उपाय अवलम्वन गर्न सकिन्छ ? भन्नेतर्फ सरकारले बेलैमा ध्यान दिनु जरुरी छ । राज्यले राहत नदिने हो भने खेतीपाती बाहेक अन्य स्रोत नभएका किसानहरूको त चुलो नबल्ने पक्कापक्की छ । स“गस“गै चामल किनेर खाने वर्गका लागि समेत समस्या उत्पन्न हुने देखिएको छ । अब विदेशबाट थोरै चामल आयात गरेर पुग्दैन । ठूलो परिमाणमा चामल आयात गर्नका लागि सरकारले अहिलेदेखि नै पहल गर्नु जरुरी छ । धान खेती त सकियो, सकियो अब गुहँ बाली लगाउने सिजन सुरु हुँदैछ । सबै खेतमा गहुँबाली लगाउने हो भने केही हदसम्म अनिकाल टार्न सकिन्छ । धान खेती गरिएको क्षेत्रफलमध्ये २० प्रतिशतमा मात्रै गहुँबाली लगाउने प्रचलन छ । किसानले त्यहीअनुसार गहुँको बिउ र मलखादको व्यवस्थाका लागि रकम जोहो गरेर राखेका छन् । तर अब धान खेती गरिएको सबै खेतमा गहुँबाली लगाउनका लागि सरकारले अनुदानमा बिउ र मलको व्यवस्था गरिदिने हो भने किसानलाई धेरै हदसम्म राहत हुनेछ । संभावित अनिकाल पनि टर्नेछ । साथै सिँचाइका लागि पनि बिजुलीमा अनुदान दिनु जरुरी छ । भाषण मात्रै गरेर हुँदैन ।

साथै जलवायु परिवर्तन तथा बेमौसममा परेको यो भीषण वर्षाले बाह्रै महिना उद्धार तथा राहतका लागि सरकारी संयन्त्र तयार हुनुपर्ने पाठ सिकाएको छ । अर्कातिर पहाडी क्षेत्रमा सडक निर्माण गर्दा र बेँसी क्षेत्रका खोला नदीका किनारमा बस्ती बसाल्दा समेत सतर्कता अपनाउनु जरुरी भएको छ । एकातिर नदीको बहाव क्षेत्रलाई अतिक्रमणगरी भौतिक संरचना निर्माण गरिएको छ भने अर्कातिर सडक निर्माणका नाममा पहाडी क्षेत्रका भिराला जमिनहरू डोजर लगाएर खोतल्ने क्रम बढेको छ । जसका कारण पहिरो जाने र खोला तथा नदीहरूले आसपासका खेत तथा बस्तीहरू डुबाउने समस्या बढ्न थालेको छ । यसबाहेक नेपालबाट गएका नदी तथा खोलाहरूको प्राकृतिक बहाव अवरुद्ध हुने गरी छिमेकी मुलुक भारतले धमाधम बाँध बनाइरहेको छ । नेपालको तराई क्षेत्रमा पछिल्लो समय डुबानको समस्या बढ्नुमा मुख्य कारक भनेका भारतीय क्षेत्रमा बनाइएका बाँधहरू नै हुन् । वर्षाको पानी बाँध लगाएर जम्मा गर्ने र सुक्खा सिजिनमा आवश्यकता अनुसार प्रयोग गर्ने भारतको रणनीतिले नेपाली किसानहरू ठूलो मर्कामा परेका छन् । तर, जुन पार्टी सरकारमा आए पनि भारतको यो रवैयाविरुद्ध चुइक्क बोल्ने गरेको देखिँदैन । ‘रेल, पानीजहाज र सगरमाथासम्म जाने केबुलकारको टिकट काट्न पैसा ठिक्क पारेर बसे हुन्छ’ भन्ने शासकसमेत बेहोरेका जनताहरूले राज्यबाट सहुलियत पाइन्छ भन्ने आशा गर्न छाडेका छन् ।

प्रतिक्रिया