चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ ।

फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पुर्याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको सूचनामा जनाइएको छ ।

स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगरसभाले नै यस्तो निर्णय गरेपछि अहिले कार्यान्वयनमा ल्याएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरपालिकाको प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले नयाँ बङ्गुर फार्म सञ्चालन नगर्न र सञ्चालनमा रहेका बङ्गुर फार्मलाई ३० दिनभित्र हटाउन निर्देशन दिँदै सूचना जारी गरेका छन् । आगामी मङ्सिर ५ गतेभित्र त्यस्ता फार्म नहटाए कारबाही गर्ने उनले जानकारी दिए । अहिले चाँगुनारायणका विभिन्न ठाउँमा व्यावसायिकरूपमा बङ्गुर फार्म सञ्चालनमा छन् ।

सरकारको नियमानुसार पनि यस्ता बङ्गुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभई बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ । चाँगुनारायण क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको नगरपालिकाको भनाइ छ ।

प्रतिक्रिया