बन्दीपुर केबुलकारका लागि २ सय ५७ रूख काटिने

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकारको ‘राइट अफ वे’मा २ सय ५७ रूख काटिने भएको छ । केबुलकार निर्माणका लागि त्यसमार्गमा पर्ने रूख काट्न लागिएको हो । सबडिभिजन वन कार्यालय बन्दीपुरले शुक्रबारदेखि रूख कटानका लागि स्थलगत निरीक्षण सुरु गरेको छ । बन्दीपुर गाउँपालिका–४ स्थित कोच्चो सामुदायिक वनभित्रको २ सय ५७ रूख काट्न लागिएको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । रूख काट्नका लागि वन विभागबाट स्वीकृति प्राप्त भइसकेको छ । ‘दुई हप्ताभित्र रूख काटेर सकिन्छ, काटेको रूख सामुदायिक वनलाई बुझाउनुपर्छ’, उनले भने ।

आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ १ हजार १ सयभन्दा बढी लगानीकर्ता रहेका छन् । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुंगास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।

०७५ साउन पहिलो साता शिलान्यास भई ०७७ फागुन १ गते केबुलकार सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको छ । ०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । अब ०७९ फागुन १ गते बटम स्टेसनको सम्पूर्ण काम र केबुलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए ।

कम्पनीले ०७९ वैशाख १ देखि होटेललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबुलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेसनको बहुआयामिक चारतारे होटेलसहितको निर्माण सम्पन्न गरी ०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तर कम्पनीले त्यस भन्दा अगावै ०७८ फागुन १ गते रेस्ट्रो जोन सञ्चालनमा ल्याउने भएको छ । ‘केबुलकारभित्र रेस्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेसनमा रेस्टुरेन्ट हुने भएकाले रेस्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।

प्रतिक्रिया