एमाले स्थायी कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो २ बजे स्थायी कमिटीको बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।

एक स्थायी कमिटी सदस्यका अनुसार मुख्य रुपमा आजको बैठकमा असार २७ गते भएको १० बुँदे सहमति र त्यसपछि भदौमा जारी भएको अन्तर पार्टी निर्देशन १२ कार्यान्वयनको विषय नै केन्द्रित हुनेछ। १० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा बनेको कार्यदलले आजको स्थायी कमिटी बैठकमा सुझाव प्रस्तुत गर्नेछ । त्यसपछि त्यसलाई कसरी समाधान गरेर लैजाने भन्ने विषयमा नै छलफल केन्द्रीत हुनेछ ।

एमाले अध्यक्ष केपीशर्मा ओलीले बुधबार बागमती प्रदेश कमिटीको बैठकमा १० बुँदे सहमति र त्यसको कार्यान्वयनका सन्दर्भमा दिएको अभिव्यक्तिपछि माधवकुमार नेपाल छोडेर एमालेमै रहेका नेताहरु असन्तुष्ट बनेका छन् । त्यसैकारण पनि आजको स्थायी कमिटी बैठकको एजेन्डाकै रुपमा यस विषयमा छलफल हुन लागेको हो । यसअघि हिजोको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । त्यसका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिक्रिया