विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य

काठमाडौं । प्रदेश १ को प्रदेश सभाको बैठक आज (शुक्रबार)बस्ने भएको छ। यसअघि असोज २५ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वास मत लिने तयारी गरेको एक सांसदले बताए । भदौ एकमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छन् ।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन्। गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।

सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन् । विश्वासको मत नलिए अविश्वासको प्रस्ताव दर्ता गर्ने चेतावनी दिइसकेको गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

प्रतिक्रिया