संकटमा वैकल्पिक पेसाको महत्व

एनपी रिजाल

नेपालमा कृषिमा निर्भर परिवारले वैकल्पिक पेसामा संलग्न हुनुपर्छ । खेतीपाती गरिसकेर बचेको समयमा अन्य व्यवसायमा संलग्न हुन सकिन्छ । कतिपय व्यवसाय एकै समयमा सञ्चालन गर्न सकिन्छ । जस्तो, पर्यटक आउने स्थान छ भने कृषिसँगै होमस्टे वा होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ या घरका सदस्यबाट नै सञ्चालन हुन सक्ने व्यवयास गर्न सकिन्छ । घरका कुनै सदस्यले उच्च शिक्षा हासिल गरेको छ भने सरकारी वा निजी क्षेत्रमा जागिर खान सक्छ ।

नेपालीहरूको महान चाड बडादसैँको मध्य रौनक छाएको बेला यही ३१ असोजदेखि देशव्यापी रूपमा बेमौसममा परेको वर्षातले कृषकहरूको उमंगमा ठूलो धक्का दियो । वर्षभरी खान पुग्ने धान भकारीमा थन्क्याउने बेलामा परेको पानीले बगाइदियो । बाढीले पाक्न आँटेको धान खेतमा नै लडायो, धेरै कृषकले धान काटेर खेतमा नै राखेका थिए त्यो पनि डुबाइदियो । कतिपय स्थानमा बाढी पसेर धान खेत बालुवामा परिणत भयो । यो बेमौसममा आएको वर्षातले सिंगो नेपालका हिमालदेखि तराई, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म वितण्डा मच्चायो । गत वर्षभन्दा यस वर्ष वर्षायाममा राम्रो पानी परेको कारण धानको उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको थियो तर त्यो लक्ष्य अनुसारको धान उत्पादन हुने अवस्था देखिँदैन । कृषकले बाली भित्र्याउने बेलामा पानी परेर क्षति हुने जोखिम जहिले पनि हुन्छ । अझ प्राकृतिक प्रकोपको जोखिम दैवी विपत्तिको रूपमा आउने गर्छ । कुन समय कस्तो प्रकृतिको प्रकोप आएर कुन स्तरको आर्थिक क्षती पु¥याउँछ आँकलन गर्न सकिन्न ।

दुई वर्ष पहिला चीनको बुहानमा पत्ता लागेको कोरोना भाइरसले विश्वअर्थतन्त्रमा ठूलो ब्रेक लगायो । धेरै व्यवसायमा धक्का लाग्यो । निजी क्षेत्रमा काम गर्ने करोडौँ मानिसले रोजगार गुमाए । नेपालमा पनि २०७६ चैत ११ बाट लगाइएको बन्दाबन्दी पछि रोजगार गुमाएका धेरैले गाउँघरमा बाँझो छाडेको जमिनको महत्व सम्झिए । कतिपयले गाउँमा गएर बाँझो जमिनमा खनजोत गरी बाली लगाए । ठूलो विश्वव्यापी प्रभाव पार्ने महामारी आएर रोजगारी, व्यापार व्यवसाय बन्द भए पनि आफ्नो खेतबारी भए अन्न पलाएर बाँच्न सकिन्छ भन्ने बहस खुब चल्यो । अर्थात प्राकृतिक संकटको बेला कुनै न कुनै व्यवसाय प्रभावित हुन्छ त्यस्तो बेला दोस्रो वैकल्पिक पेसाको महत्व छ भन्ने कुरा धेरै मानिसले महसुस गरे ।

अर्थशास्त्रमा उत्पादनका साधनको बाँडफाँड कसरी गर्ने विषयको अध्ययन गरिन्छ । एउटा विवेकशील उत्पादकले आफूसँग भएको सीमित उत्पादनका साधनलाई कसरी उच्चतम रूपमा सदुपयोग गर्छ भनी अध्ययन गरिन्छ । कुनै पनि उत्पादकले सम्पूर्ण उत्पादनका साधन एउटा वस्तु तथा सेवाको उत्पादनमा प्रयोग गर्नु भनेको अन्य वस्तु तथा सेवाको उत्पादनमा गर्ने लगानीबाट पछाडि हट्नु हो । उत्पादकले उत्पादनका सम्पूर्ण साधन एउटा वस्तु तथा सेवामा खर्च गर्दा दोस्रो वस्तु र सेवाबाट आर्जन गर्ने लाभलाई गुमाइरहेको हुन्छ । अर्थात उसले दोस्रो उच्चतम वैकल्पिक वस्तु तथा सेवाबाट आर्जन उक्त वस्तु उत्पादन र बजारमा प्राकृतिक प्रकोप, राजनीतिक उथलपुथल, सामाजिक प्रभावका कारण संकट सिर्जना भएको अवस्थामा उत्पादकले ठूलो आर्थिक भार बेहोर्छ । त्यस्तो आर्थिक संकटको बेलामा दोस्रो वैकल्पिक पेसाले राहत सिर्जना मात्र गर्दैन ओरालो लागेको आर्थिक अवस्थालाई पुनः लयमा फर्कन आवश्यक धक्का पनि दिन्छ ।

निर्वाहमुखी कृषि सँधै संटकमा
नेपालको कृषि बाली मौसमी प्रकृतिको छ । ८० प्रतिशत कृषकहरू व्यावसाहिक होइन । उनीहरू निर्वाहमुखी खेती गर्छन् । अन्य वैकपिल्क पेसाको अभावका कारण कृषि उत्पादनले उनीहरूको एक वर्षको खानपिनको जोहो पनि हुने गर्छ । यस वर्ष बाली भित्र्याउने बेलामा परेको भारी वर्षाका कारण धानबालीमा धक्का लागे पनि कृषि पेसामा नै निर्भर रहेका कृषकलाई ठूलो धक्का लागेको छ । खेत जोत्न, बिउ बिजन र रोपाइँको लागत व्यवस्थापन गर्नसम्म कृषकले धेरै खर्च गर्नुपर्छ । सरकारले कृषकलाई मल र बिउमा अनुदानको व्यवस्था गरे पनि वास्तविक कृषकको हातमा अनुदानको रकम पुग्दैन । धान उत्पादनबाट वर्षभरी खानु पर्ने र बचेको धान विक्री गरी अन्य खर्च व्यवस्थापन गर्नुपर्ने हैसियत कृषकसँग अर्को वैकल्पिक पेसा पनि हुँदैन । त्यस्तो अवस्थाका कृषकहरू कहिले भारी वर्षा, कहिले सिँचाइ सुविधाको अभाव त कहिले विभिन्न किराहरूको असरका कारण समस्यामा पर्दै आइरहेका छन् ।

वैकल्पिक पेसाको छनौट
कुनै पनि व्यवसायको दोस्रो उच्चतम लाभ दिने वैकल्पिक व्यवसायको छनौट गर्नुपर्छ । विगतमा कुनै एक व्यक्तिका लागि दोस्रो वैकल्पिक व्यवसायको छनौट गर्नु प्राविधिक र आर्थिक रूपमा असम्भव भए पनि पछिल्लो समयमा दोस्रो वैकल्पिक पेसाको छनौट सम्भव छ । तर, हरेक व्यक्तिले वैकल्पिक पेसा अपनाउन सक्दैनन् । प्रत्येक व्यक्ति परिवारको हिस्सा हो । परिवारको सदस्यहरूमा पनि उनीहरूको शैक्षिक क्षमता, शारीरिक र मानसिक अवस्थामा फरक फरक हुने कारण कुनै अर्को पेसामा संलग्न हुन सक्छन् । नेपालमा कृषिमा निर्भर परिवारले वैकल्पिक पेसामा सम्लग्न हुनुपर्छ । खेतीपाती गरिसकेर बचेको समयमा अन्य व्यवसायमा संलग्न हुन सकिन्छ । कतिपय व्यवसाय एकै समयमा सञ्चालन गर्न सकिन्छ । जस्तो, पर्यटक आउने स्थान छ भने कृषिसँगै होमस्टे वा होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ या घरका सदस्यबाट नै सञ्चालन हुन सक्ने व्यवयास गर्न सकिन्छ । घरका कुनै सदस्यले उच्च शिक्षा हासिल गरेको छ भने सरकारी वा निजी क्षेत्रमा जागिर खान सक्छ । पछिल्लो समय प्रविधिको समय भएको कारण कुनै सदस्यसँग प्राविधिक ज्ञान छ र सानो पँुजीमा स्थानीय स्तरमा काम गर्न सकिने अवस्था छ भने उसले कृषि व्यवसायसँग उक्त व्यवसाय अपनाउन सक्छ ।

आय आर्जन गर्नका लागि सरकारी जागिर खाने होस, या निजी क्षेत्रमा काम गर्ने होस या परिवारका कुनै सदस्य वैदेशिक रोजगारीमा हुन या परिवारका सम्पूर्ण सदस्य कृषि पेसामा संलग्न हुन या व्यापार व्यवसायमा नै संलग्न किन नहुन उनीहरूले एउटै पेसाबाट आय आर्जन गरी आर्थिक संटकमुक्त जीवन बिताउन खोज्नु वर्तमान आर्थिक संरचनामा घातक निर्णय हुन सक्छ । प्रविधिमा आएको व्यापक विकासले आर्थिक गतिविधि तीव्र रूपमा परिवर्तन भइरहेको अवस्था एकातिर छ भने अर्कोतिर नयाँ नयाँ आर्थिक क्षेत्रहरू देखापरिरहेका छन् । १५/२० वर्ष अगाडि नदेखिएका आर्थिक सम्भावनाका क्षेत्रहरू अहिले देखापरेका छन् । त्यसबेला आय आर्जन गर्ने र खर्च गर्ने क्षेत्र पनि सीमित भएको कारण कुनै व्यक्ति एउटै पेसामा सहज रूपमा निर्भर हुन सक्थ्यो । तर, वर्तमान आर्थिक संरचना जटिल किसिमको छ, त्यस्तो अवस्थामा एउटा प्राकृतिक प्रकोपले पारेको क्षतिको संटक सामना गर्न अर्को पेसाले मद्दत गर्छ ।

प्रतिक्रिया