हामी पछि पर्नुको हाम्रो मूल कारण परनिर्भरताको कठोर पासो

लोकनारायण सुबेदी

सात दशकअघि अर्थात २००७ सालको दशकदेखि विकास यात्रामा सँगसँगै हिँडेका आफ्ना जोडिएका र निकट छिमेकी देशहरू कहाँ पुगे र हामी कहाँ पुगेका छौँ त्यो हेर्दा हाम्रो श्रोत साधन परिचालन गर्ने नेतृत्व कति कमजोर, कति अदूरदर्शी, कति गैरजिम्मेवार र कति बेइमानी रहेछ भन्ने कुरा एकदमै प्रष्ट हुन्छ । यस कुरामा अरू कतैतिर कसैलाई दोष दिएर पन्छिने कुनै ठाउँ नै छैन ।

हाम्रो देश नेपाल भौगोलिकरूपले रणनीतिक महत्वको स्थानमा अवस्थित छ । उत्तरतर्फ विश्वकै ठूलो जनसंख्या भएको दोस्रो महाशक्ति मुलुक चीन छ । दक्षिणतर्फ विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत छ । भारत आफूलाई विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भनेर दावी गर्छ । यता चीनले पनि कम्युनिस्ट शासन व्यवस्थामार्फत विश्वलाई चकित बनाउने गरी उन्नती प्रगति गरिरहेको छ । नेपाल वाह्य शक्तिको क्रिडास्थल बन्नुको मुख्य कारण चीन र भारतको बीचमा अवस्थित हुनु हो भन्ने कुरा जग जाहेर छ । फलतः नेपालले हिजोदेखि आजसम्म राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अनेक समस्या बेहोर्नु परिरहेको छ । अहिले पनि नयाँ संस्करणमा त्यो स्थिति कायमै रहेको छ । त्यसै बाह्य दबाब र प्रभावले गर्दासमेत नेपालको राजनीतिमा अनेक अपूर्व विकृति र विसंगति उत्पन्न भएका छन् । अनि विकासमा पछि पर्नुको एउटा प्रमुख कारण पनि यही नै बनेको छ । त्यसैले नेपाल आज पर निर्भरताको पासोमा उम्किनै नसक्ने गरी फँसिरहेको छ । वर्षाैं देखि विकासको कुरा चलाइने गरेको भए पनि नेपाल विश्वमा एउटा दीनहीन देशको रूपमा रहिरहनुको एउटा प्रमुख कारण नै यही हो ।

हाम्रो देश प्राकृतिक विविधिता, जैविक विविधिता, जातीय तथा सांस्कृतिक विविधता आदिका हिसाबले एक सुन्दर बहु सम्भावना भएको देश हो । मूलतः यस देशको विकासका आधारहरू पनि यी नै कुराहरू हुन् । तर यी श्रोतहरूलाई आफ्नै साझा राष्ट्रिय हित र समृद्धिका लागि सही किसिमले परिचालन गर्ने परम्परा नै नेपालका अहिलेसम्मका शासकहरूले बसाल्न सकेनन् या बसाल्न चाहेनन् । तर विदेशीहरूले यी नै हाम्रा प्राकृतिक र मानवीय सम्पदा तथा श्रोतमाथि आँखा गाडेका छन् । यी कुराहरूलाई आफ्ना हितमा उपयोग गर्न खोजेका छन् । बस्तुतः नेपालसँगको उनीहरूको सम्बन्धको मूल आधार नै यही हो । चाहे कसैले प्रत्यक्षरूपमा यो स्वीकार गरोस् या परोक्षरूपमा तर बास्तविकता यही नै हो ।

बास्तवमा नेपाललाई जतिसुकै स्वतन्त्र र स्वाधीन भने पनि वर्षांैदेखि यो देश औपनिवेशक दोहनको सिकार भइरहेको छ र त्यसकै मारमा परेर निर्धनतम देश बन्दै आएको कुरा कसैमा लुकेछिपेको कुरा छैन । हुन पनि २००७ सालअघि बृटिस–भारतको बेलायती साम्राज्यको एकाधिकारका रहेको देश त्यसपछि पनि त्यसबाट मक्त हुन सकेन । नेपाल भारत सम्बन्धले सही दिशा र गति लिन नसक्नु पछाडिको अहिलेसम्मको कारण नै त्यही हो । जबसम्म यो कुरालाई प्रष्टरूपमा स्वीकारेर यसको सही उपचारको खोजी गरिँदैन तबसम्म देशले काँचुली फेर्ने कुरा फेरि पनि ‘मृग मरीचिका’ नै बन्नेछ । अहिलेसम्मको तीतो यथार्थको अनुभवले यो कुरा एकदमै प्रष्ट पारिसकेको र पारिरहेको छ ।
यसै कारणले हाम्रो राष्ट्रिय विकासको सही रणनीति र कार्य योजना बन्न सकेन र विकासलाई केबल शासकीय दृष्टिले मात्र हेर्ने र यसलाई शासक वर्ग र तिनका आसेपासेहरूको ‘पकेट मनी अर्थतन्त्र’मा परिणत गर्ने आजसम्मको अवस्था रहँदै आयो । फलतः राष्ट्र र जनताको सम्पत्तिमाथि केही मुठ्ठीभर मानिसको लागि खेलबाड गर्ने विषय बन्यो र बनाइँदै आयो । त्यसका लागि विदेशीको निर्देशन र अक्कल विनाको नक्कल गरेर बेलाबेलामा जे जे नारा ज–जसले दिए पनि वास्तविक यथार्थ परिणामले नेपाललाई एउटा गरिब र कमजोर राष्ट्रको रूपमा खडा गरिदियो । यसले गर्दा हाम्रो राष्ट्रिय क्षमताको अभिवृद्धि हुन सकेन । बस्तुतः यही नै आज हामीले भोगिराखेको र अनुभव गरिराखेको नेपाली समाज हो र एउटा कुण्ठित समाज हो ।

बस्तुतः हाम्रो व्यापार घाटालाई मात्र सर्सरी हेर्दा पनि यो यो सम्पूर्ण राष्ट्रिय बजेटको समानान्तर बन्न पुगेको भयावह स्थिति छ । कृषिप्रधान देश भनिए पनि कृषि क्षेत्र तिरष्कृत र कुण्ठित भएर अनाकर्षक र गतिहीन बनेको छ । त्यसले गर्दा बाहिरबाट अर्बौं अर्बको खाद्यान्न, तरकारी, फलफूल, दूध तथा मासुजन्य पदार्थ हाम्रो देशले आयात गर्नु परिरहेको छ र गरिरहेको छ । कृषि कर्म र क्षेत्र नै लगानी नउठ्ने र संकटको सामना गरिरहेको क्षेत्र बनिरहेको छ । यस क्षेत्रलाई जगाउने, उठाउने र अघि बढाउने बिश्वासिलो जग नै बस्न सकेको छैन । जसले गर्दा कृषि क्षेत्रमा धेरथोर विकसित भएको या अबलम्बन गरिएको प्रविधिले पनि पूर्णरूपले काम गर्न सकेको या गर्न पाएको छैन । त्यसैले अधिकतम श्रमभार बेहोरिरहेको कृषि क्षेत्रमा लागेका मानिसहरूकै यो पहिलो क्षेत्र बन्न सकिरहेको छैन । युवा शक्ति विदेश पलायन हुनुको पृष्ठभूमि नै मूलतः यही हो ।

त्यसैले तल भुइँतहदेखिकै जनतामा केन्द्रित विकास रणनीति र कार्य योजना अघि नसारिएसम्म, जनतालाई श्रोत साधनको स्वामित्व प्रदान गर्ने र त्यसको परिचालन, प्रगति र परिणामको प्रष्ट, प्रत्यक्ष सहभागी बनाउने बाटो न पक्रिएसम्म हाम्रो राष्ट्रिय बिकासले फेरि पनि सही दिशा र गति लिन सक्ने छैन । यो फेरि पनि जनतालाई दीनहीन राख्ने र एउटा बिलासी शासक वर्गीय गतिविधिकै वरिपरि केन्द्रित र सीमित रहन पुग्दछ । अनि यही अवस्थालाई आफ्नो स्वार्थ साधना गर्ने हिसाबले बाह्य शक्तिहरू पनि जमजमाउँदछन् र अहिलेसम्म त्यसरी नै प्रस्तुत हुँदै आएका छन् । त्यसै कारणले दर्जनौँ दातृ संस्थाहरू, हजारौँ हजार आइएनजिओहरूसहित नेपालको शासक वर्गले विकासको ठूलो डंका पिट्ने र होहल्ला चलाउने गरे पनि कुनै सार्थक र अग्रगामी परिणति आउन सकेको छैन र यसरी कदापि आउँदा पनि आउँदैन । अनि यसले जनतामा विकासमा सहभागतिाको सुनिश्चितता र सार्थक परिणामको आशा तथा आत्मविश्वास जगाउन पनि सक्तैन । संगठित, सक्रिय र सार्थक जनसहभागिता र जनस्वामित्वसहितको जनताका वस्तुगत आवश्यकतामा आधारित अपूर्व विकास नीति आजको हाम्रो राष्ट्रिय आवश्यकता हो । अन्यथा फेरि पनि हामी अरू देशका र हाल आएर दुई विशाल छिमेकी देश – चीन र भारतका विकासका कथा सुन्दै सस्तो श्रम र प्राथमिक कच्चा पदार्थ मात्र निर्यात गर्ने नाजुक स्थितिमै सीमित रहिरहने र अझ कहालीलाग्दो स्थितितिर धकेलिनेछौँ । अनि यस्तो कमजोर स्थिति जहिले पनि बाह्य शक्तिको क्रिडास्थल र अखडा बनिरहने उर्वर भूमिबाहेक अरू केही हुन सक्तैन । आवश्यकता सर्व प्रथमतः आज यस स्थितिबाट मुक्त हुनु छ ।

विकासका सन्दर्भमा पहिलो कुरा माथि उल्लेख गरियो भने दोश्रो कुरा यसप्रकार उल्लेख गर्न सकिन्छ — देश गलत राजनीतिक व्यवस्था, संकीर्ण राजनीतिक स्वार्थ र गैरजिम्मेवार राजनीतिक प्रवृत्तिका कारण पछि परेको कुरा अब मध्य दिउँसोको घाम जत्तिकै छर्लंग भइसकेको छ । धेरै अगाडिका कुरा नगरेर २००७ यतादेखिको राजनीतिक परिवर्तनको उतारचढावलाई मात्र सर्सरी केलाए पनि यो यथार्थ राम्रोसँग प्रकट हुन्छ । तर लाज पचेर नकच्चरो भएपछि यी कुनै कुराले असर पार्दैन र देश र जनताप्रतिको जिम्मेवारी बोधको हुटहुटी पनि पैदा गर्दैन । हुन पनि जसले देशको श्रोत साधन अर्थात् उपलब्ध सस्तो कच्चा पदार्थ र सस्तो श्रमको दुरुपयोग गरेर कुम्ल्याए आज तिनीहरू कि त चुपचाप छन् कि त यसो गर्ने उसो गर्ने भनेर अर्ती–उपदेश दिन तम्सिने गर्दछन् । जसको कुनै औचित्य र सान्दर्भिकता नै छैन ।

सात दशकअघि अर्थात २००७ सालको दशकदेखि विकास यात्रामा सँगसँगै हिँडेका आफ्ना जोडिएका र निकट छिमेकी देशहरू कहाँ पुगे र हामी कहाँ पुगेका छौँ त्यो हेर्दा हाम्रो श्रोत साधन परिचालन गर्ने नेतृत्व कति कमजोर, कति अदूरदर्शी, कति गैरजिम्मेवार र कति बेइमानी रहेछ भन्ने कुरा एकदमै प्रष्ट हुन्छ । यस कुरामा अरू कतैतिर कसैलाई दोष दिएर पन्छिने कुनै ठाउँ नै छैन । तर हाम्रो देशको अहिलेसम्म नेतृत्व गर्ने विविध रूप रंगको तर एउटै धरातल र प्रवृत्तिको शासक वर्गले आफूले देश र जनताप्रति समर्पित भएर सही दिशाबोधका साथ काम गर्न नसकेको र सीमित र संकीर्ण स्वार्थले गर्दा विकास संस्कृति र चेत नआएको बस्तुगत यथार्थलाई स्वीकार्न सकेको या त्यसो गर्न न चाहेको प्रष्ट भइसकेको र भइरहेको छ ।

वास्तवमा जबसम्म हामीले कुन कुन कारणले, कसरी र कहाँदेखि बाटो बिरायौँ भन्ने कुराको खोजी गर्दैनौँ तबसम्म समग्र विकास संस्कृतिको सही दिशामा अघि बढ्नै सक्दैनाैं । त्यस्तो अवस्थामा हाम्रा अमूल्य स्रोत साधनहरू — प्राकृतिक, सांस्कृतिक र मानवीय सबै – या त त्यसै खेर जान्छन् या त सीमित स्वार्थमा प्रयुक्त हुन्छन् । स्वभावतः केही सीमित र सानो समूहका व्यक्तिहरू सम्पन्नताले मोटाउँदछन् भने अरू बाँकी सबै विपन्नताले झन् पछि झन् दुब्लाउँदै जान्छन् । अनि जतिसुकै विकास संरचना र संयन्त्र खडा गरे पनि र त्यसका लागि जतिसुकै बजेट वितरण गरे पनि त्यो बहुसंख्यक आमजनसमुदायका लागि अर्थहीन र निष्कृय बन्दछ । अहिलेसम्मको हाम्रो विकास योजनाको बस्तुगत यथार्थ परिणामले दर्शाएको अन्तिम सत्य यही नै हो । यो विकासले जनतालाई आफ्नो विद्यमान नाजुक स्थितिबाट अझ तल तल झार्ने र बिस्थापित गराउनेबाहेक केही पनि गर्दैन । अहिलेसम्मको स्थिति विकासले औँल्याएको कटु यथार्थ सत्यतः यही नै हो । त्यसैल हाम्रो बिकास नीति, विधि र थिति तल भुइँका जनतालाई एकजुट पार्ने, विकासको प्राथमिक र द्वितीय श्रोत साधनको स्वामित्व प्रदान गर्ने र त्यसको रक्षा गर्दै अझ उच्च चरणमा लैजान जनतालाई नै सुम्पने बाटो अख्तियार गरिनु पर्दछ । आत्मनिर्भर र समुन्नत भएर परनिर्भताको पासोबाट मुक्त हुने बाटो यही नै हो । अन्यत्र भौँतारिएर देश र जनताको विकास कदापि हुन सक्तैन भन्ने कुरा अनुभवले सिद्ध गरिसकेको छ । अब पनि नचेत्नु मूर्खता र दासताको जञ्जालमा फँस्ने सिवाय अरू केही नहुने अँध्यारो सुरूङको प्रवेशद्वारमा हामी पुगिसकेको अवस्थाबाहेक अरू कुनै निष्कर्ष निस्कँदैन ।

प्रतिक्रिया