हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई दश लाख राहत

कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताए ।

‘जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ । त्यति छिटो राहत रकम उपलब्ध गराउछौँ’, उनले भने । कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैंकमार्फत भुक्तानी गरिने उनले बताए ।

‘मृतक परिवारलाई किरिया खर्चबापत रु ५० हजार रकम एक, दुई दिनभित्रै उपलब्ध गराउँदै छौँ’, उनले भने । बुधबार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो ।

शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरी रकम उपलब्ध गराइने नगर प्रमुख दिलबहादुर ऐरले बताए । दुई वर्षअघिसमेत नगरपालिकाको वडा नं १ बन्साहमा हात्तीले एक जना स्थानीयवासीको ज्यान लिएको थियो ।

जङ्गली हात्ती नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन

जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षति गर्न थालेपछि नियन्त्रण गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । नगरप्रमुख ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

हात्ती नियन्त्रणका लागि सुरक्षा निकायको २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ८, ११ र १२ प्रभावित रहेका छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने कार्य र विद्युतीय बारलाई व्यवस्थित पार्ने कार्य भइरहेको प्रमुख संरक्षण अधिकृत पुर्जामगरले बताए । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने कार्य भइरहेको उनको भनाइ छ ।

लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मार्कामा परेका छन् ।

जङ्गली हात्तीले मानवीय क्षति गर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसितसमेत भएका छन । बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहरदोहर गर्दै आएका छन् । स्थानीयवासीले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।

प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जङ्गली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । बर्सातका बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पुर्याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो (करिडोर) मासिँदा हात्तीले अधिक नोक्सनी पुर्याउने गरेको वन्यजन्तु विज्ञको भनाइ रहेको छ ।

‘हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन’, विज्ञहरु भन्छन्, ‘प्रजननका बेला मात चढेको मत्त९भाले० हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ ।’ छावा माथि आक्रमण हुनसक्ने ठानेमा समेत जोगाउनका लागि हात्ती हिंसक हुने गर्दछ ।

प्रतिक्रिया