बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न सुदूरपश्चिम जाँदै देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज (बिहीवार) सुदूरपश्चिम प्रदेश जाँदैछन् । केहीबेरमा प्रधानमन्त्री सहितको टोली सुदूरपश्चिम प्रदेश जान लागेकाे छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले निरीक्षणमा जाँदै छन् । यस्तै काँग्रेस नेताहरू रमेश लेखक, नेता साउद र वीरबहादुर बलायरलगायत सुदूरपश्चिम जाँदैछन् ।

प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिनेछन् । उनी सम्भव भएसम्म बिहीवार नै कर्णाली प्रदेशमा पनि पुग्नेछन् । प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा भएको धनजनको क्षतिका सम्बन्धमा जानकारी लिनेछन् ।

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर बुधवार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । बुधवारमात्रै ५० जनाभन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ ।

प्रतिक्रिया