देशभर बाढीपहिरोको वितण्डा : ७७ को मृत्यु, २७ वेपत्ता, २२ घाइते

काठमाडौं । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।
उनका अनुसार बाढी÷पहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् । गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम बुधबार पनि जारी छ ।

अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरापालिका १, २, ३ र बेरुवा गाउँपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रभावितहरू पालिकाका विभिन्न विद्यालयमा आश्रय लिएर बसेका छन् । बाढीले पानीका श्रोतहरूसमेत दूषित भएपछि झाडापखाला, रुघाखोकीका बिरामी देखा पर्न थालिसकेका छन् । बाढीकै कारण पानीजन्य प्रकोपजन्य रोगहरू फैलिनसक्ने बाढीग्रस्त क्षेत्रमा खटिएकाहरू बताउँछन् ।

स्वास्थ्य कार्यालय गुलरियाले बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोग फैलिनसक्ने भन्दै आधारभूत औषधि वितरण र नियमित परीक्षणका लागि स्वास्थ्यकर्मीको तीनवटा टोली खटाइएको कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक गणेश गिरीले बताए । निरन्तरको वर्षाले डोटीको सिलगढीस्थित स्वास्थ्य कार्यालयको भवनको रहेको आधा भाग पहिरोले बगाएको छ । पहिरो प्रभावित क्षेत्रमा नियमित खोप कार्यक्रमसमेत अवरुद्ध हुनसक्ने देखिएको छ । पहिरो प्रभावित तीनवटा पालिकासँग अझैपनि नियमित सम्पर्क हुन सकेको छैन ।

‘८ गतेदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका थियौँ । तर, बाटो नै खुलेन भने कसरी खोप पु¥याउने भन्ने चिन्ता छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धव बहादुर ठगुन्नाले भने, ‘गाडी जहाँसम्म जान्छ, त्यहाँसम्म स्वास्थ्य सामाग्री लगेर बााकी बाटो पैदमार्गबाट भएपनि पु¥याउनुपर्ला,’ ठगुन्नाले भने । ‘पास्ट मनसुन’को समयमा भएको भारी वर्षाले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम त प्रभावित भएको छ नै महामारीजन्य रोग फैलिने सम्भावना पनि उत्तिकै बढेको छ ।

मृतकको परिवारलाई २ लाख दिइने 
सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार नै सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषदको बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधबार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पु¥याएको स्थानमा आफैँ जाने पनि बताएका छन् ।

प्रतिक्रिया