ग्लोबल आईएमई बैंकमा खाता खोल्दा एनसेल सिम सित्तैमा

काठमाडौं । ग्लोबल आईएमई बैंक र एनसेल एक्जियाटा लिमिटेड (एनसेल)बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकहरूलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेलका कार्यकारी निर्देशक एण्डी चोङले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार वैदेशिक रोजगारीमा जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली एवम् उनीहरूका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरूले ग्लोबल आईएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त सहयात्री सिममा ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुने जनाइएको छ । यसैगरी, सहयात्री सिमकार्डमा २० रुपैयाँ मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ ।

यसका साथै सिम सञ्चालन गरिएको दुई दिनभित्र १०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइनेछ । सहयात्री सिमकार्ड प्रयोगकर्ताहरूले एक वर्षसम्म हरेकपटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवम् मध्यपूर्वी राष्ट्रहरूमा कल गर्दा अतिरिक्त छुट पनि प्राप्त गर्नेे जनाइएको छ ।

प्रतिक्रिया