जापानमा आम निर्वाचनका लागि प्रतिनिधिसभा विघटन

तस्बिर : रोयटर्स ।तस्बिर : रोयटर्स ।

टोकियो । जापानका प्रधानमन्त्रीले आगामी आम निर्वाचनका लागि यहाँको संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले बिहीबार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको बताएका हुन् ।

यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।

सत्तारूढ एलडीपी (लिबरल डेमोक्रेटिक पार्टी)को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै उनले अर्काे आम निर्वाचनको तयारी थालेका थिए ।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका छन् ।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका छन् । उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह पनि गरेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया