फ्रान्स नेसन्स लिग च्याम्पियन

पेरिस । स्पेनमाथि पूनरागमन जित निकाल्दै विश्व विजेता फ्रान्स युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । फ्रान्सले स्पेनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । फ्रान्सलाई च्याम्पियन बनाउन करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे । स्पेनका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीबाट गोलको उल्लेख्य मुभ निस्कन सकेन ।

५४औं मिनेटमा काउन्टर अट्याकमा करिम बेन्जेमाको पासमा कलियन एमबाप्पेको प्रयासलाई मार्काेस अलन्सोले ब्लक गरेपछि फ्रान्स अग्रता लिनबाट चुक्यो । ६४औं मिनेटमा पल पोग्वा हुदै करिम बेन्जेमाबाट आएको पासमा थियो हर्नान्डेजको प्रहार क्रस बारमा लागेर फर्कदा फ्रान्सले अग्रता लिन सकेन ।

सोही मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा मिकेल ओयरजावालले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए । तर स्पेनको अग्रता दुई मिनेट पनि टिकेन । ६६औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बेन्जेमाले एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । ८०औं मिनेटमा एमबाप्पेले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए ।

८८औं मिनेटमा अलन्सोको पासमा पिनोको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउँ गर्दै स्पेनको बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कर्नरबाट आएको बलमा अनमार्क रहेका पिनोको प्रहारलाई लोरिसले बचाउँदै फ्रान्सलाई च्याम्पियन बनाए ।
गत जुन–जुलाईमा सम्पन्न युरोकपमा कमजोर प्रदर्शन गरेको फ्रान्सले प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा दोस्रो उपाधि जित्न सफल भएको होे । यसअघि फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।

त्यसअघि आइतबार राति नै भएको खेलमा बेल्जियमलाई २–१ पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गरेको छ । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए ।

प्रतिक्रिया