साफ च्याम्पियनसिप : भारतले नेपाललाई हरायो

माले । माल्दिसको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपाललाई १–० ले हराएको छ । प्रतिस्पर्धात्मक खेलको ८२ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरेका थिए । हारपछि नेपाल समूह चरणको दोस्रो स्थानमा झरेको छ । शीर्ष स्थानको माल्दिभ्स र नेपाल दुबैको ३ खेलबाट समान ६ अंक भएपनि माल्दिभ्स गोलअन्तरमा अघि छ ।

यसअघि नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यता, पहिलो खेलमा नेपालसँग पराजित भएको आयोजक माल्दिभ्सले त्यसपछि बंगलादेश र श्रीलंकालाई हरायो । समूह चरणमा ५ अंक जोडेको भारत तेस्रो र ४ अंक जोडेको बंगलादेश चौथो स्थानमा छन् ।
पाँचौ स्थानको श्रीलंकाले सबै चार खेल खेलिसकेको छ । भारतविरुद्ध बराबरी नतिजा निकालेको श्रीलंका बाँकी सबै खेलमा पराजित भयो । त्यसैले प्रतियोगितामा उसको चुनौती समूह चरणमै सकियो । साफ च्याम्पियनसिपअन्तर्गत अब समूह चरणका दुई खेल बाँकी छन् । जहाँ, नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलले फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ । समूह चरणमा पहिलो र दोस्रो हुने टिम फाइनलमा भिड्नेछन् ।

प्रतिक्रिया