लद्दाखमा भारत र चीनका सेनाबीच वार्ता

नयाँ दिल्ली । दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको हो ।स्रोतका हवाला दिँदै पीटीआईले कोर कमान्डर स्तरको वार्ताको यस १३ औँ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ । आइतबारको वार्ता बिहान करिब साढे १० बजे सुरु भएको थियो । आइतबारको वार्तामा भारतीय दलको नेतृत्व लेहस्थित १४ कोरका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेननले गरेका थिए ।

लगभग तीन हप्ताअघि भारतीय विदेशमन्त्री एस जयशंकरले दुशांबेमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटघाट गरेका थिए । सो भेटमा उनले दुवै देशले पूर्वी लद्दाखको बाँकी क्षेत्रको मुद्दालाई पनि चाँडोभन्दा चाँडो समाधान गर्न काम गर्नुपर्ने बताएका थिए । दुई नेताबीचको छलफल एससीओ शिखर सम्मेलनका दौरान १६ सेप्टेम्बरमा भएको थियो । यसअघि भारत र चीनका सैन्य अधिकारीबीच ३१ जुलाईमा १२ औँ चरणको वार्ता भएको थियो । यसको केही दिनपछि दुवै देशका सैनिक गोगराबाट पछि हटेका थिए । सो क्षेत्रमा शान्ति बहला गर्ने दिशामा सो कदमलाई महत्वपूर्ण मानिएको थियो । शनिबार भारतको थल सेनाध्यक्ष जनरल एमएम नरवणेले पूर्वी लद्दाख क्षेत्रमा चीनले ठुलो संख्यामा सेना तैनाथ राखे भारतीय सेनाले पनि सोही अनुसारको कदम चाल्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया